1100×100 Nabil Advert

नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीको सत्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्षको मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

 

साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाश जंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

 

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सत्रौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताउनुभयो ।

 

समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

 

देशको विषम भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी–एलटीई प्रविधिमा आधारित भोल्ट सेवा तथा एफटीटीएच सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको उहाँले बताउनु भयो ।

 

यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी–एलटीई सेवाको पहुँच विस्तार भइ ७७ वटै जिल्लामा उच्च गतिको एफटीटीएच सेवा समेत विस्तार भएको बताउनु भयो । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाइ ब्याडविथ कनेक्टीभिटी बिस्तार गर्ने र कनेक्टमा आधारित भ्यालु एड सभिसेजको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा विश्व बजारमा उपलव्ध जिएसएम सेवा अन्तर्गत पाँच जीबी सेवालाई व्यावसायिक रुपमा सञ्चालन गर्न र सेवा विस्तारका लागि अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उहाँले बताउनु भयो । ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगलाई अधिकतम प्रतिफल प्राप्त हुनेगरी परिचालन गर्ने प्रयत्न स्वरुप कोशी, मधेश र बागमती प्रदेश अन्तर्गतका मध्य पहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने विभिन्न मार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने कार्यक्रम अन्तर्गत समीक्षा अवधिको अन्त्यसम्ममा कूल १३९५ कि.मि. विस्तार भएको समेत उहाँले बताउनु भयो ।

 

कम्पनी सञ्चालक समितिका अध्यक्ष अर्यालले अगाडि भन्नुभयो, ‘देशभर फोरजी–एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । सम्भाव्यताका आधारमा भूमिगत वा एडीएसएस माध्यमबाट सूचना महामार्गको निर्माणलाई तीव्रता दिइएको छ । अप्टिकल फाईबर नेटवर्क विस्तार गर्न नसकिने स्थानहरुमा उच्च क्षमताको माईक्रोवेभ रेडियो लिंक स्थापना गरिएको छ भने माईक्रोवेभ रेडियो लिंक मार्फत स्याटेलाईट लिंकलाई प्रतिस्थापन गर्दै लगिएको र सेवा अविछिन्न राख्नको लागि नियमित रुपमा विद्युत उपलब्ध गराउन सोलार पावर प्रणाली जडानलाई विशेष जोड दिइएको छ ।’

 

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘दुई जी प्रविधिमा आधारित भोइस सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै चार जी सेवालाई सम्पूर्ण ग्राहकहरुको माझमा पु¥याउने कार्यलाई निरन्तरता दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट पाँच जी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् पाँच जी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’

 

दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरुप समय सापेक्ष कम्पनीमा कार्यरत जनशक्तिलाई मानव पूँजीका रुपमा स–सम्मान पहिचान गर्ने विश्वव्यापी मान्यतालाई अनुसरण गरी कर्मचारीकै अगुवाइमा कम्पनीको भावी कार्यदिशा पहिल्याउने प्रयास गरिएको र सरोकारवाला र विज्ञहरुसँग व्यापक छलफल र अन्तरक्रिया गरी सन् २०३० सम्मको कम्पनीको स्वरुप र कार्यदिशालाई स्पष्ट गरिसकिएकोले कार्यान्वयनको लागि आवश्यक रणनीति निर्माण कार्यलाई प्राथमिकता दिइएको बताउदै उहाँले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताउनु भयो ।

 

साथै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुनेगरी साझेदार संस्थाहरुसँगको सहकार्यसमेतमा विभिन्न सेवा विस्तार गर्नेतर्फ कम्पनीका गतिविधि निर्देशित गरिने र यस कार्यमा कम्पनीमा कार्यरत कर्मचारी, नियामक निकाय तथा शेयरधनी महानुभावहरुबाट सदाझैं पूर्ण सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको बताउनु भयो ।

 

कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनीहरुले उठाउनु भएका विभिन्न सुझावहरुको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै सुझाव दिने शेयरधनीहरुप्रति आभार व्यक्त गर्नुभयो । कम्पनीले सत्रौं साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित समय १८:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु