1100×100 Nabil Advert

अत्यावश्यक सेवामा ढुंगामुढा, होहल्ला र सेवा बन्दको कार्यप्रति कृषि विकास बैंकले जनायो गम्भीर आपत्ति

काम–कारवाहीमा चित्त नबुझे कानूनी प्रक्रियामा जाने बाटो खुल्ला

काठमाडौं । कृषि किसास बैंकको शाखा कार्यालय लहानमा बैंकिङ सेवा नै ठप्प हुनेगरी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुंगामुढा तथा होहल्ला गर्नाका साथै बैंकिङ्ग सेवा बन्द गर्ने लगायतको कार्य प्रति कृषि विकास बैंकले गम्भीर आपत्ति जनाएको छ । यस्ता अराजक गतिविधिले बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम सिर्जना भएको तथा बैंकको सेवा प्रवाह अवरुद्ध भएको छ । यस खालका अमर्यादित एवं अवाञ्छित व्यवहार गरी बैंकजस्तो संवेदनशील स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य के हो भन्नेबारेमा बैंकले स्पष्ट उल्लेख गरेको छ ।

 

कृषि विकास बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ- यस बैंकको लहान शाखा कार्यालयबाट २०७७ फागुन १५ देखि सरल कृषि कर्जा र व्यक्तिगत ओभरड्राफ्ट शीर्षक अन्तर्गतको कर्जा उपभोग गर्नुभएका कर्जा ग्राहक जिल्ला सिराहा, लहान नगरपालिका वडा नं. २ बस्ने रामचन्द्र यादवले बैंकलाई भुक्तानी गर्नुपर्ने साँवा एवं व्याज कर्जा सम्झौताबमोजिम तोकिएको समयमा भुक्तानी नगरी निर्धारित भाखा नाघेको र लामो समयसम्म पनि कर्जा चुक्ता-भुक्तान नगरे पश्चात बैंकले पटक-पटक मौखिक एवं लिखित रुपमा पत्राचार गरी ताकेता गरेको थियो । सो सम्बन्धमा २०७९ वैशाख २० मा २१ दिने सार्वजनिक सूचनामार्फत समेत जानकारी गराएको थियो ।

 

सो समयावधिभित्र समेत कर्जा राफ साफ नगरेकोले बैंकको प्रचलित कर्जा असुली कार्यविधि तथा प्रचलित नियम बमोजिम कर्जा असुलीको थप प्रक्रिया स्वरुप धितो लिलामीको लागि पहिलो पटक २०७९ माघ २३ गते, दोस्रो पटक २०८० जेठ १७ गते र तेस्रो पटक २०८० मंसिर ४ गते राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशन गरी भाखा नाघेको कर्जाको साँवा र व्याज तिर्न वारम्वार मौका दिएको अवस्थामा समेत भाखा नाघेको कर्जाको साँवा र व्याज भुक्तानी गर्न चासो नदिई बसेको हुँदा नियम सम्मत चौथो पटक २०८१ असोज ८ मा धितो लिलामी सूचना प्रकाशन गर्दा रीतपूर्वक प्राप्त शीलवन्दी बोलपत्र मध्येबाट आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र स्वीकृत गर्नुको साथै शीलवन्दी बोलपत्र कबोल गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दा.खा. गरेकोसमेत बैंकले जनाएको छ ।

 

यसरी बैंकले विद्यमान कानूनी प्रक्रिया एवं प्रचलित बैंकिङ्ग अभ्यासको पूर्ण अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा असहमति जनाई ऋणी-धितो जमानत दाता समेतको संलग्नतामा २०८१ पुस ११ गते र २०८१ पुस २३ गतेका दिन केही व्यक्तिहरुले कृषि विकास बैंकको लहान शाखाको प्रांगण आसपास तथा लहान बजार भरी भ्रम सिर्जना हुनेगरी गलत प्रचार-प्रसार नाराबाजी गर्ने, हुल हुज्जत गर्ने सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममा सत्यतथ्य विपरित अनर्गल तथा कपोलकल्पित समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम सिर्जना गर्ने तथा बैंकको नियमित कारोबार सञ्चालनमा बाधा पुग्ने गरी कार्यालयमा तालावन्दी गर्नुका साथै कर्मचारीहरुमाथि अमर्यादित तरिकाले गालिगलौज र धाकधम्की दिई बैंकको मूल गेटमा समेत पाल विच्छाई धर्नामा बसी बैंक सञ्चालनमा समेत बाधा पुर्‍याएकोमा आज पुनः निज ऋणीसहितको अराजक भीड जम्मा भई यस बैंकको लहान शाखामा तालावन्दी गर्ने, ढुङ्गामुढा तथा तोडफोड गर्ने जस्ता अवाञ्छित गतिविधि गरी बैंकको भौतिक सम्पत्तिको नोक्सानी गराउने, बैंकको सेवा अवरुद्ध गराउने तथा बैंक कर्मचारीहरुको सुरक्षामा समेत गम्भीर आँच आउन सक्ने खालका गैरकानूनी तथा अवान्छित कार्य भएको जनाएको छ ।

 

निज ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नु भन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ्ग सेवा अवरुद्ध गराउनेतर्फ उद्यत देखिएकोले यस्ता खालको गैरकानूनी अवाञ्छित गतिविधिप्रति घोर भत्र्सना गर्दै आपत्तिसहित खेद प्रकट गरेको छ । यसरी गरिएको लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रक्रियामा जानसक्ने अवस्था हुँदाहुँदै बैंक जस्तो सम्बेदनशील सस्थाको सेवा नै अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु कदापी उचित नहुने उल्लेख गर्दै बैंक जस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाधरुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबै समक्ष कृषि विकास बैंकले अनुरोध गरेको छ ।

प्रकाशित समय १२:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु