तुलसीपुर उपमहानगरपालिकाले गर्‍यो महोत्सव लगाउने संस्थाबाट २५ लाख कर लिने निर्णय

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उहाँले बताउनुभयो । ‘यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो हुने अबस्था थियो थियो’ उहाँले भन्नुभयो, ‘तर अहिले रु २५ लाखसहित मनोरञ्जन कर उठाउँदा रु ३० लाख बढी हुने भयो, यसले नगरमा कर बढ्ने भयो ।’

 

यसअघि महोत्सवको अनुमति दिए पनि ठेकेदारहरू आएर बिचौलियाको काम गर्ने र आम्दानीको पाँच प्रतिशत नगरलाई दिनुपर्ने व्यवस्था भए पनि रु एक पनि कर नआउने गरेको भन्दै अबदेखि त्यो समस्या नहुने उहाँको भनाइ थियो । अब उपमहानगरपालिकाले आफै टिकेट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने उहाँले बताउनुभयो । यसअघि आयोजकले आफै टिकेट काट्ने र आम्दानी नदेखाउने गर्दा करमा पनि छली हुने अवस्था थियो ।

यस्तै यस वर्ष चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाको शुक्रबारको बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई महोत्सव लगाउने जिम्मा दिने निर्णय गरेको हो । यसअघि तुलसीपुर उद्योग वाणिज्य सङ्घले महोत्सव लगाएको भन्दै पालोका आधारमा चेम्बरलाई महोत्सव लगाउने जिम्मा दिइएको प्रमुख खड्काले बताउनुभयो । ‘एउटा व्यवसायको संस्थाले एक पटक महोत्सव लगाएमा तीन वर्षसम्म लगाउन नपाउने कार्यविधि छ’, उहाँले भन्नुभयो, ‘सोहीबमोजिम हामीले यस वर्ष चेम्बर र साना तथा घरेलु उद्योग महासङ्घलाई दिने भन्ने कुरामा बहस भयो, तर अन्ततः चेम्बरलाई दिने निर्णय भयो, यहीअनुसार अर्को बर्ष घरेलुलाई दिनुपर्ने हुन्छ, यो कार्यविधिले बोलेको कुरा हो ।’ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले बोलपत्रमार्फत महोत्सव लगाउनुपर्ने माग राखेको भए पनि सबैलाई पालो दिएर त्यसपछि बोलपत्र गर्न सकिने नगर प्रमुख खड्काको भनाइ छ ।

प्रकाशित समय ०९:४२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु