1100×100 Nabil Advert

जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सिङ्गो पार्टी परिचालित हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओली – सम्बोधन ललितपुर, ३० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा आइतबार ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रियताका साथ एकढिक्का भई अघि बढ्न समग्र पार्टी पङ्तिलाई आग्रह गर्नुभएको छ ।

एमाले पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका पक्षमा स्थापना भएको पार्टीका नेता तथा कार्यकताका हैसियतले जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा सक्रियताका साथ एकताबद्ध भई लाग्न अनुरोध गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन पार्टी पङ्ति एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उहाँले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनमसुदायमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले चीनमा कुनै पनि नेताले पार्टी नेतृत्वको विरोध नगर्ने परिपाटी रहेको स्मरण गराउनुभयो ।

चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको बताउनुभयो ।

“हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रुप दिन सुरुवात्देखि नै लाग्दै आएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पनउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको हो । राजनीतिक अधिकार प्राप्त भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धितर्फ लाग्नुपर्नेछ ।”

इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उहाँले पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्दै आएकाले अब त्यसबाट मुक्त हुनुपर्ने धाराणा व्यक्त गर्नुभयो ।

प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि संस्थापक नेता पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाएर देश र जनताको हितमा काम गर्न सबैसँग अनुरोध गर्नुभयो ।

शनिबार सुरु भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष तथा महासचिव र महानगर-उपमहानगर पालिकामा एमालेबाट निर्वाचित प्रमुख÷उपप्रमुहरूको सहभागिता रहेको छ ।

प्रकाशित समय १३:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु