1100×100 Nabil Advert

अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा देखिएको छ :  सञ्चारमन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा उहाँले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व सङ्कलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

 

‘राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ’, उहाँले भन्नुभयो । खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताउनुभयो । दूग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने उहाँले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकारस्तरमा भएका प्रयासको सर्हाना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताउनुभयो । उहाँले उद्योगी-व्यवसायी बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

 

‘सरकारले नीति ल्याएर मात्र हुँदैन । सो प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्दछ । अर्थमन्त्रालय तथा सरोकार भएका निकायबीच समन्वय आवश्यक छ’, उहाँले भन्नभयो । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी सरकारले रोक्न नहुनेमा उहाँले जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका नीतिहरूलाई स्थिरता प्रदान गरी लगानी र व्यवसायका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रले सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित समय १७:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु