1100×100 Nabil Advert

मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर

मुगु । जिल्लाको छायाँनाथरारा नगरपालिका-६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाखबढी आम्दानी गर्दै आउनुभएको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मौरिपालन व्यवसायबाट सबै खर्च कटाएर रु चार लाखबढी आम्दानी गर्दै आउनुभएको हो ।

रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरिपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्रविधिक सहयोग पाएको छैन ।

रूपबहादुरले भन्नुभयो, “बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरता दिँदै आएको छु । सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो ।” उहाँले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताउनुभयो ।

“ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ । उत्पादित मह लिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ । वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु । त्यसैबाट घरका दशजनाको परिवारको खर्च व्यवस्थापन हुँदै आएको छ”, रूपबहादुरले भन्नुभयो । जेठ र कात्तिक गरी दुई पटक मह निकालेर बेच्दा सबै खर्च कटाउर रु चार लाख आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

आधुनिक घार भन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउने भन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत आर्गानिक र गुणस्तरीय हुने दाबी गर्नुभयो ।

सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदल दूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोत मात्र नभइ पुख्र्यौली व्यवसायको एक नमूना पनि हो । परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उहाँका बुबाले गर्नुभएको थियो । विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उहाँले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहनुभएको छ ।

प्रकाशित समय १३:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु