1100×100 Nabil Advert

महासंघले लगानी प्रवर्द्धनमा नियोगहरुलाई सघाउँछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाउनुभएको छ । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसँग महासंघले आयोजना गरेको अन्तर्क्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताउनुभयो ।

‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कूटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह छौं,’ उहाँले भन्नुभयो, ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्‍यो ।’ नेपालमा वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उहाँले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गर्नुभयो । यसैगरी अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने वताउनुभयो । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था एवं चेम्बरहरुसँग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राख्नुभयो ।

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताउनु भयो । ‘कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौं, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो’, ढकालले भन्नुभयो । ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२ प्रतिशतमात्र हो । त्यसैले लगानी प्रवद्र्धन सबैको चासोको विषय हुनुपर्ने उहाँको धारणा थियो ।

छलफलका क्रममा उहाँले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताउनुभयो । ‘उच्च विदेशी मुद्राको संचितिलाई विदेशी लगानीकर्ताहरुले सदुपयोग गर्न सक्छन्,’ उहाँले भन्नुभयो । नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गर्न सकिनेतर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनुभयो । ‘पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्‍यौं,’ उहाँले भन्नुभयो । यी कार्यक्रममा हरेक देशका करिब एक सय ५० स्थानिय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो ।

मध्यपूर्वी मुलुकहरुमा नेपाली कृषिजन्य उत्पादनहरुको सम्भावना रहेको औल्याउनु हुँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको वताउनुभयो । अन्य मुलुकहरुमा पनि नेपाली उत्पादनका लागि गैरभन्सार अवरोध समस्याका रुपमा रहेको वताउनुभयो । यसैगरी नेपाल अतिकम बिकसित मुलुकहरुबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तराष्ट्रियस्तरमा पाइने सुविधा कटौतीले निजी क्षेत्रमा प्रभाव पर्ने बताउनुभयो । यस्तो प्रभाव कम गर्न नव नियुक्त राजदूतहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराउनुभयो । छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको वताउनुभयो । यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउनुहुँदै सहकार्य गरिने वताउनुभयो । बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्विपक्षीय करमुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने वताउनुभयो । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सेनाले निजी क्षेत्रसाग मिलेर काम गर्ने वताउनुभयो । भारतका लागि प्रस्तावित राजदूत डा.शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो । भारतसँगको समस्या के छन्, ती विषय लिखितरुपमा दिन आग्रह गर्नुभयो । कतारका लागि प्रस्तावित राजदूतले कतार चेम्बरसँग महासंघले संयुक्त परिषद् स्थापना गरिसकेको सन्दर्भमा यसबाट फाइदा लिन सहकार्य गर्नुपर्ने बताउनुभयो ।

जर्मनका लागि नेपालका राजदूत डा.सहयोग रुपाखेती युरोपेली मुलुकमा जाने मुलुकहरुमा जिएसपी प्लस सुविधा लिनका लागि महासंघले पहल गर्नुपर्ने बताउनुभयो । आइएलओ अभिसन्धी ८७ पारित गर्ने विषयमा छलफल हुनुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञानबहादुर मगरले आर्थिक कूटनीति विस्तार मन्त्रालयको प्राथमिकता रहेको बताउँदै यसमा विशेष पहल गरिने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवनियुक्त राजदूतहरुले आर्थिक कूटनीतिलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासंघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित समय २०:२८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु