भुइँकटहर खेती गर्दा एक बिघा जमिनबाट वार्षिक १५ लाखसम्म आम्दानी
सुनसरी । बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उहाँ कृषि क्षेत्रमा सक्रिय हुनुभयो । अहिले उहाँलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीमा लाग्नुभएका उहाँले यसैबाट मनग्गे आम्दानी गरिरहनुभएको छ ।
हाल उहाँले एक विघामा भुइँकटहर लगाउनुभएको छ । यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । वार्षिक एक लाख खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानी अझै बढ्छ ।‘
उहाँका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उहाँले भुइँकटहर प्रतिगोटा एक सयदेखि एकसय ५० सम्म बिक्री गर्दै आउनुभएको छ । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उहाँको भनाइ छ । अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । उहाँले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आउनुभएको छ । उहाँको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार उपलब्ध गराइसकेको छ ।
प्रकाशित समय ०८:४० बजे






















