नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्ने बताउनुभएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कर्पोरेशनको भूमिकाका कारण बजारलाई व्यवस्थित बनाउन टेवा पुग्दै आएको समेत बताउनुभयो । उहाँले सरकारी स्वामित्वमा रहेको कर्पोरेशनकै कारण दैनिक उपभोग्य तथा अत्यावश्यकीय वस्तुहरुको पहुँचलाई सर्वसाधारणसम्म पुर्याउने सरकारको दायित्वलाई पूरा गर्न पनि सहज बनेको बताउनुभयो । मन्त्री भण्डारीले केही कुरा सर्टेज हुँदा साल्ट ट्रेडिङ आम उपभोक्ता र सरकारको साथमा छ भन्ने अनुभूति हुनेगरी काम गर्दै कृत्रिम अभावलाई समाधान गर्ने सवालमा पनि कर्पोरेशनले साथ दिदै जाने विश्वास व्यक्त गर्नुभयो ।
युनियनहरुले व्यवसायिक विकासका लागि योगदान दिन सके संस्थागत विकासले अझ गति लिने मन्त्री भण्डारीले बताउनुभयो । उहाँले नीतिगत रुपमा पनि कर्पोरेशनको सबलीकरणमा सरकारले कार्ययोजनासहित अघि बढ्ने जानकारी पनि गराउनुभयो । ‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौं,’ मन्त्री भण्डारीले भन्नुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको समेत आवद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिप्रेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्ययोजना भएको हुनुपर्ने भनाईसहित उहाँले सरकारले जसरी कर्पोरेशनलाई विश्वास गरेको छ, त्यसैगरी कर्पोरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रुपमा अघि बढ्दै जानुपर्ने बताउनुभयो । सो अवसरमा मन्त्री भण्डारीले जनताको विश्वासिलो संस्थाका रुपमा कार्य गर्दै आएको कर्पोरेशनले समयानुकूल थप सेवा विस्तारसहित अझ प्रगति हासिल गर्न सकोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभयो ।
सो अवसरमा कर्पोरेशनका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले आफ्नो उद्देश्यअनुरुप दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तरीय एवम् सुपथ मूल्यमा सर्वसाधारण उपभोक्ताको घरदैलोमा सेवा पुर्याइरहेको जानकारी दिनुहुँदै समाजलाई उपयोगी सामानहरु समेत आपूर्ति र बिक्री वितरण गर्दै आएको जनाउनुभयो । ‘हाम्रो अभियानमा नेपाल सरकार, अन्य सबन्धित निकायहरु र सर्वसाधारणबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको छ भने भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास गरेको छौं । त्यसैले हाम्रो सफलता भनेको यहाँहरुको सफलता हो भन्ने धारणा सहित भविष्यमा आफ्नो सेवालाई अझ सक्षम र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती एवम् समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्न र उपभोक्ताको मन जित्न सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो । कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्णरुपमा पालन गरेको र नेपाल सरकारले पनि कर्पोरेशनलाई विश्वास गरी समय–समयमा थप जिम्मेवारी प्रदान गरेकोमा अध्यक्ष श्रेष्ठले आभार समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम सर्वसुलभतालाई मूलमन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यताअनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको बताउनुहुँदै यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारीरुपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नूनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पूरा गरेको तथा राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घरदैलोमा सेवा पुर्याउने यात्रालाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । ‘कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय–समयमा सुम्पिएका जिम्मेवारी पूरा गर्नमा समेत प्रतिवद्ध हुँदै आएको छ भने हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौं । यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ । कर्पोरेशनले आमजनताले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याँस समेत सामान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुर्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो ।
साल्ट टेडिङ्ग कर्पोरेशनले कारोवार र सेवाको क्षेत्र दिनानुदिन बढाउँदै लगेको र भविष्यमा अझ बिस्तार गर्ने नीति लिएको बताउनुहुँदै उहाँले सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्ने विश्वास लिएको पनि बताउनुभयो । कार्यक्रम समारोह माझ कर्पोरेशनले लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारबाट मानव कल्याण समाज, पनौती, काभ्रेपलाञ्चोकलाई ताम्रपत्रसहित १ लाख नगद प्रदान गरिएको छ । कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउनुहुने अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिसमेत प्रदान गरेको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रदेश कार्यालय, भैरहवाका कर्मचारी श्रीमती सुनिता गौतमको छोरा जतिन गौतमलाई साल्ट ट्रेडिङ्ग अनङ्गमान शेरचन छात्रबृत्ति र प्रदेश कार्यालय, काठमाडौंका कर्मचारी राजन लामाकी छोरी निमास्य लामालाई साल्ट ट्रेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति प्रदान गरिएको छ । कर्पोरेशनले छात्रवृत्तिको लागि मासिकरुपमा ६ हजारका दरले २ वर्षसम्म रकम उपलब्ध गराउने छ ।
त्यसैगरी यस वर्ष कर्पोरेशनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वरप्रसाद साह, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरविहिनतर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय यामबहादुर मगरलाई हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाशबहादुर धामी तथा स्तरबिहिनतर्फ प्रदेश कार्यालय पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्वितीय धनबहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद ४० हजार र हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्रसहित ३५ हजार उपलब्ध गराइएको छ ।
कर्पोरेशनमा निरन्तर सेवामा रहि २० वर्ष पूरा गरेका कर्मचारीलाई कदरपत्र पदक प्रदान गरिएको छ भने कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभरुपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका-३, डोल्पाका समाजसेवी डिल बहादुर मल्लले आफ्नो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निःशुल्क उपलब्ध गराउनुभएकोमा उहाँलाई सम्मानपत्र प्रदान गरिएको छ ।
प्रकाशित समय २२:२३ बजे




















