1100×100 Nabil Advert

इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झन्डोत्तोलन

काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो ।

इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन आफूले प्रयास गरिरहेको बताए ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदान-प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ ।

इन्डोनेसिया आसियान राष्ट्रहरु मध्येको ठुलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् । झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १२:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु