1100×100 Nabil Advert

पहिरोका कारण प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीलाई सास्ती

प्युठान । माण्डवी गाउँपालिका-१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवत-जावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । दाङ देउखुरीको भालुवाङ-प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटक-पटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ ।

दाङ हुँदै बुटवल, काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन् । प्रत्येक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नुपरेको रोल्पा सुनिल स्मृति गाउँपालिका-२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गर्नुभयो ।

भालुवाङ-चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ । भालुवाङ-प्युठान सडकअन्तर्गत बडडाँडा-चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचनाअनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकैपटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ । हिजो शनिबार मात्र गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायत सञ्चालन गरिएको थियो ।

प्युठान नगरपालिका-७ का टीकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता सुनाउनुभयो । सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न छ लाख खर्च भइसकेको छ । ‘सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ’, इन्जिनियर पुनले भन्नुभयो, ‘त्यसका पाँच करोड ५० लाख लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन ।’ कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उहाँको ठम्याइ छ ।

प्रकाशित समय ०९:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु