1100×100 Nabil Advert

व्यावसायिकरुपमा भैंसीपालन : दूध बेचेर मासिक लाख आम्दानी

घोराही । दाङको घोराही उपमहानगरपालिका-१३ का रवि घर्तीले व्यावसायिकरुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैंसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आउनुभएको छ ।

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहनुभएका घर्तीले भन्नुभयो, ‘भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।’ घोराही उपमहानगरपालिका-७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरुपमा पशुपालन गर्दै आउनुभएका उहाँले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । उहाँको फार्ममा १८ भैँसी र २५ बङ्गुर रहेका छन् ।

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताउनुभयो । ‘दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ’, उहाँले भन्नुभयो । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताउनुभयो । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उहाँको योजना छ ।

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताउनुहुन्छ । दूध प्रतिलिटर ७० मा बिक्री हुने गर्दछ । भैंसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउनुहुन्छ । त्यसका लागि उहाँ थप संरचना निर्माण गर्ने तयारीमा हुनुहुन्छ ।

व्यावसायिकरुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताउनुभयो । फार्ममा तीन जनाले रोजगारी पाएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ ।

प्रकाशित समय ११:३३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु