डेडीकेटेड र ट्रकलाइन विवादको निरुपण विधिसम्मत ढंगबाट गर्न इप्पानको जोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरुबीच भएको डेडीकेटेड तथा ट्रक लाइनको बक्यौता सम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर बनेको जनाएको छ । पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको र केही उद्योगहरुले यसको विरुद्ध अन्य उद्योगहरुले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरुलाई चिन्ता बढाएको इप्पानले जनाएको छ । वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी बर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरुको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको इप्पानले उल्लेख गरेको छ ।
सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरुले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितिले आयोजनाहरुको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ । ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरु, खपत गर्ने उद्योगहरु र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकोले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाई भइसकेको इप्पानले उल्लेख गरेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडीकेटेड-वक्यौतालाई लिएर अरु उद्योगहरुको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक छ, इप्पानका अध्यक्ष गणेश कार्कीले एक विज्ञप्तिमार्फत् भनेका छन् ।
अध्यक्ष कार्कीले भनेका छन्- विधिसम्मत् ढंगबाट यसको समाधान गरी निजी क्षेत्रहरुको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाईदिन आग्रह छ । साथै द्विपक्षीयबीच छलफल र संवादमार्फत यथाशीघ्र समस्या समाधान गर्नका लागि इप्पान दुवै पक्षलाई हार्दिक अनुरोध गर्दछ । अहिले दुवै पक्षबीच देखिएको संवादहिनता र द्वन्द्वको अवस्था अन्त्यका लागि पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्वद्ध सरकारी निकायहरुमा पनि इप्पानको तर्फबाट विशेष ध्यानाकर्षण गराउन चाहान्छौं ।
प्रकाशित समय २१:२५ बजे




















