एडिबीले नेपाललाई जलवायु परिवर्तनको असरसँग जुध्न सहयोग बढाउँदै
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
अर्थसचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गर्नुभएको थियो ।अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताउनुभएको भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । ‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याका बारेमा म जानकार छु । थप सहयोगका लागि एडिबी तत्पर छ’, मासात्सुगुको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।
भेटका क्रममा सचिव मरासिनीले एडिबीले नेपालको विकासमा पु¥याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि आग्रह गर्नुभयो । अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि उहाँले दिनुभयो । जवाफमा अध्यक्ष मासात्सुगुले एडिबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउनुभयो ।
सचिव मरासिनीले एडिबी उपाध्यक्ष एङ्गमिङ्ग याङ्गसँग पनि भेट गर्नुभएको छ । त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रम समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिनुभयो ।
सहसचिव नेपालका अनुसार सहुलियतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको छ । उपाध्यक्ष याङ्गले जारी कन्ट्री साझेदारी प्रेमवर्क तयारी विश्व बैङ्कसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागिसमेत यो नमूना हुनसक्ने बताउनुभएको थियो ।
प्रकाशित समय १३:४१ बजे



















