1100×100 Nabil Advert

बीमा ऐन, नियम र निर्देशकाबमोजिम काम गर्नूस् : कार्यकारी निर्देशक पौडेल

ललितपुर । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू बमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । बीमकहरूले बीमा व्यवसाय सञ्चालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी-कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको हो । कार्यकारी निर्देशक पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारवाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम गर्‍यो त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले कम्पनीका काम-कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्थालगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताउनुभयो । साथै उहाँले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धमा, उपनिर्देशक विरोध भट्टले बीमा दाबी फर्छ्योट सम्बन्धमा र उपनिर्देशक नील प्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित समय १८:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु