एभरेष्ट बैंकले खोल्यो पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर
काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुस्थित पकडीमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहनेगरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो । बैंकले ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ सो एक्टेन्टसन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लवप्रसाद कुइँकेलले संयुक्तरुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, सोही गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यलय पकडीका प्रमुख प्रहरी निरीक्षक राजिव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल केसीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिबद्धता व्यक्त गरे । उनले पंजाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको एभरेष्ट बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्नसक्ने बताए । उनले यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने समेत उल्लेख गरे । मायादेवी गाउँपालिकाका अध्यक्षले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।
सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट शुरुवाती ३ महिनाको लागि शुभारम्भ अफरहरु समेत पाउने बैंकले जनाएको छ । जसअन्तर्गत साधारण बचत खाता न्युनतम मौज्दात सय रुपैयाँमै खाता खोल्न सकिने, न्यूनतम २५ सय रुपैयाँमा चल्ती खाता, न्यूनतम १२ सय ५० रुपैयाँमा नारी बचत खाता खोल्न सकिने छ भने तलबी बचत खाता भने शुन्य मौज्दातमा खोल्न सकिने छ । त्यसैगरी डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाईब बैंकिङ्ग सेवा- पहिलो पटक निःशुल्क उपलब्ध गराउने भएको छ ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकका देशैभरी १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।
प्रकाशित समय १६:५४ बजे



















