MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

रारामा अष्ट्रेलियन लगानीको पहिलो लक्जरी रिसोर्ट निर्माण हुने

काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौंमा आइतबारदेखि शुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए । समुद्र सतहदेखि ३७ सय मिटर उचाईमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिने छ ।

‘यो पहियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण शुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौं र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं’ उनले भने ।

उनले आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुने बताए । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

प्रकाशित समय २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु