सलिको इन्स्योरेन्सद्वारा भोजपुरमा बीमा सचेतना कार्यक्रमको आयोजना
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाउँपालिकासँगको समन्वयमा सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत रहनुभएको थियो । कार्यक्रमको सञ्चालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा सलिको इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य र कम्पिनीले हालसम्म गरेका गतिविधिहरुबारे प्रकाश पार्नुभयो र आगामी दिनहरुमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटि बीमाले अधिकतम कृषकहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा गर्ने प्रक्रिया, बीमालेखका किसिम, बीमालेखमा भएका व्यवस्थाहरु, वीमाशुल्क, दावी प्रकृया, व्यक्तिगत दूर्घटना बीमा, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरु लगायतका विषयमा जानकारी गराउनु भयो ।
टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले कृषि बीमा आजको आवश्यता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनूदानको दायरामा टेम्केमैयुङ गाँउपालिका अधिकतम कृषकहरु समावेश हुनपर्ने कुरामा जोड दिनुभयो । गाउँपालिकाले कृषकहरुको आर्थीक भार कम गर्ने उदेश्यका साथ थप १० प्रतिशत अनुदानसमेत प्रदान गर्ने योजनाका साथ काम अगाडि बढिरहेको जानकारी सहभागीहरु समक्ष गराउनु भयो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले यस्ता बीमासम्बन्धि सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्यरुपमा सञ्चालन गर्दै आएको साथै बीमकहरुले समेत अनिवार्य बेला बेलामा सञ्चालन गनुपर्ने महत्वपूर्ण कार्यक्रम रहेको जानकारी गराउनु भयो । उहाँले वीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनु हुन समेत सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समूह, तथा कृषकहरु गरी जम्मा ३८ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय २१:५४ बजे




















