1100×100 Nabil Advert

अनधिकृतरुपमा सम्पत्ति आर्जन गर्ने शाखा अधिकृतलाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शंकरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कार्की वि.सं. २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले वि.सं. २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी तीन करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ । यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले छ करोड ९८ लाख ४६ हजार छ सय तीन बराबर खर्च गरेको पाइएको छ ।

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ । आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित समय १५:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु