निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो यसलाई राज्यले सम्मान गर्नुपर्छ : अध्यक्ष भट्टराई (अन्तर्वार्ता)
देशभित्र रोजगारी सिर्जना नगरेसम्म मुलुकले प्रगति गर्न सक्दैन । त्यसका लागि लगानीको वातावरण बनाउनु पर्दछ । अहिले लगानी सम्मेलनको कुरा आइरहेको छ, त्यो निकै राम्रो कुरा हो । तर सरकारले लगानी गर्ने वातावरणको ग्यारेन्टी गर्नु पर्ने आवश्यकता छ । अहिले काम गर्न सक्ने युवाहरू धमाधम विदेश पलायन भइरहेका छन् । रेमिट्यान्सका कुरा बजेटमा आउँछ । राज्यले पनि विदेश गएर रेमिट्यान्स पठाउ भनेको जस्तो अवस्था छ । उपभोग गर्ने वर्ग विदेश गएको अवस्थामा कसरी लगानी गरेर उत्पादन गर्न सकिन्छ ? काम गर्ने मानिसहरू बाहिर रहेको अवस्थामा छ । हामीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको खण्डमा आत्मनिर्भर बन्न सक्छौं । जबसम्म हामी आत्मनिर्भर बन्दैनौं, तबसम्म हामीले ठूला कुरा नगर्दा हुन्छ । निजी क्षेत्रलाई हेर्ने नजर सबै सरकारले फेरिदिनु पर्यो भन्नुहुन्छ शैलेन्द्र भट्टराई । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईसँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
० अहिले अधिकांश ठाउँका उद्योगी व्यवसायीको अवस्था नै निकै दयनीय छ, पाल्पाका उद्योगी व्यवसायीको अवस्था चाहीं के छ ?
अहिले देशमा जस्तो अवस्था छ पाल्पामा पनि त्यस्तै हो । यो कुनै एक क्षेत्रका लागि मात्रै भन्दा पनि समग्र देशको अवस्था नै हो । अझै भनौं अन्तराष्ट्रियरुपमा पनि अवस्था बिग्रँदो नै छ । हाम्रोमा भूकम्पपछिको प्रभाव अहिलेसम्म पनि परि नै रहेको छ । व्यापार निकै कम रहेको छ । हाम्रो व्यापार भनेको ग्रामीण भेगसँग जोडिएको छ । पछिल्लो समय संघीयताका कारण जिल्लामा उत्पादन भएका वस्तुहरू जिल्ला बाहिर पनि जान थालेको अवस्था छ । पहिले तानसेन बजारमा आउने सामान अहिले सडक सञ्जालको विकासले गर्दा बुटवललगायत तराइका क्षेत्रमा पनि जाने गरेको छ । आर्थिक मन्दीका कारण अहिले नयाँ कामको थालनी गर्न र नयाँ लगानी गर्नका लागि मानिसहरू उत्साहित छैनन् । जसले गर्दा आर्थिक अवस्था निकै कमजोर बनिरहेको छ ।
० पाल्पा जिल्लामा कस्ता किसिमका उद्योगहरू रहेका छन् ?
हाम्रोमा ठूला उद्योगहरू दुईवटा रहेका छन् । सर्वोत्तम र सीटी सिमेन्ट उद्योग तानसेनमा रहेका छन् । त्यस्तै होङ्सी सिमेन्टको पनि कारखाना यहाँ रहेको छ । त्यसको नाफा भने पाल्पाले पाउन सकेको छैन । सबै बाहिर जाने भएकाले यहाँ नाफा आउन सकेको छैन । पाल्पामा पछिल्लो समय पर्यटक क्षेत्रमा काम गर्नुपर्छ भन्ने सबै निकायको सोच देखिएको छ । त्यो बाहेक यहाँ साना तथा मझौला व्यवसाय नै हो । यहाँ ढाका, करुवा लगायत स्थानीय उत्पादनका उद्योगहरू पनि रहेका छन् । त्यस्तै कफी, अदुवा, दालचिनी, तेजपत्ता लगायतको पनि उत्पादन हुन्छ ।
० तपाइहरूलाई स्थानीयदेखि संघीय सरकार र उद्योग वाणिज्य महासंघको सहयोग छ कि छैन ?
हाम्रो पहुँच पुग्ने ठाउँमा हामीले आवाज उठाएकै छौं । पाल्पामा उत्पादित वस्तुलाई प्रोत्साहन गर्नुपर्छ र बाहिरबाट आउने वस्तुलाई निरुत्साहित गर्नुपर्छ । जिल्ला बाहिर तयारी भएर आउने भन्दा कच्चा पदार्थलाई सहुलियत दिनुपर्छ भन्ने हाम्रो भनाइ हो । स्थानीय उत्पादनलाई प्रमोट गर्नका लागि पनि यसलाई अभियानकै रुपमा लैजानुपर्ने आवश्यकता रहेको छ । तीनै तहका सरकारको कुरा गर्दा निजी क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने किसिमको मनस्थिति छैन । हाम्रो भनाई भनेको के हो भने निजी क्षेत्रलाई नसमेटिकन कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिंदैन । यो कुरा सरकारले बुझ्नुपर्ने आवश्यकता हुन्छ । यो विषयमा नेपाल उद्योग वाणिज्य महासंघमा पनि हामीले आवाज उठाएको अवस्था छ । निजी क्षेत्रले ८५ प्रतिशत राजस्वमा योगदान दिएको छ भने रोजगारीका क्षेत्रमा पनि ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ । यत्रो योगदान दिएको क्षेत्रलाई कुनै स्थान नदिनु निकै दुखद पक्ष हो । हाम्रो कुराहरू समेटिनु पर्छ । मौद्र्रिक नीतिका कुरा गर्दा पनि ठूला व्यवसायीलाई मात्रै हेर्ने काम महासंघले गरेको छ । साना उद्योगीका विषयमा महासंघले पनि अडान लिन सकेको देखिंदैन । हाम्रो स्थान के हो ? हामी कहाँ छौं ? यो विषयमा स्पष्ट अडान लिनुपर्ने आवश्यकता छ । ठूलो घरानाको मात्रै कुरा गरेको छ महासंघले । जिल्ला नगर उद्योग वाणिज्य संघहरू खाली भोटरका रुपमा मात्रै प्रयोग भएको अवस्था छ ।
० पाल्पामा बैंक तथा वित्तीय क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ ?
पाल्पा जिल्लामा बाहिरको जस्तो लघुवित्त, सहकारीहरूले मानिसलाई ठगेको कुरा त आएको छैन । तर लिएको ऋण तिर्नुपर्दैन भन्ने व्यक्तिहरूका पछाडि लागेकाले केही समस्या भएको छ । यो नकारात्मक मानसिकता हो । बैंक तथा वित्तीय संस्थाले पनि उनीहरूलाई मोटिभेसन गरेर काम गर्नुपर्ने अवस्था छ । अहिले समस्या आएको छैन भनेर बस्ने भन्दा पनि भविष्यमा आउने समस्याका लागि पनि तयार हुनुपर्ने अवस्था छ । एक प्रयोजनका लागि लगिएको ऋण अर्को क्षेत्रमा प्रयोग हुँदा पनि समस्या भएको अवस्था छ ।
० सरकार लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ । तर स्वदेशी लगानी नै पलायन भएको अवस्थामा विदेशी लगानी आउला त ?
लगानी सम्मेलन निकै राम्रो कुरा हो । हामीले पनि लगानी सम्मेलन गरेका थियौं । जसको कारणले नाङ्लोजस्तो ठूलो होटल सञ्चालन गर्न सकेका छौं । त्यो कन्सेप्ट राम्रो हो । तर सरकारले लगानी गर्ने वातावरणको ग्यारेन्टी गर्नु पर्ने आवश्यकता छ । हाम्रोमा भएका युवाहरू धमाधम पलायन भइरहेका छन् । पाल्पाको कुरा गर्नु हुन्छ भने यहाँको बसाइसराइका कारण तानसेन अहिले नगरपालिका छ । यही अवस्था रहने हो भने तानसेन गाउँपालिकामा परिणत हुन सक्छ । यसतर्फ राज्यको ध्यान जान जरुरी छ । अहिले रोजगारी दिन सक्ने अवस्था छैन । रेमिट्यान्सका कुरा बजेटमा आउँछ । राज्यले पनि विदेश गएर रेमिट्यान्स पठाउ भनेको जस्तो अवस्था छ । उपभोग गर्ने वर्ग विदेश गएको अवस्थामा कसरी लगानी गरेर उत्पादन गर्न सकिन्छ ? काम गर्ने मानिसहरू बाहिर रहेको अवस्थामा छ । हामीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको खण्डमा हामी आत्मनिर्भर बन्न सक्छौं । जबसम्म हामी आत्मनिर्भर बन्दैनौं, तबसम्म हामीले ठूला कुरा नगर्दा हुन्छ । निजी क्षेत्रलाई हेर्ने नजर सबै सरकारले फेरिदिनु पर्यो । जनप्रतिनिधिलाई उत्पादन र उद्यमशीलताका कुराहरूमा निजी क्षेत्रसँग मिलेर कार्यक्रम बनाउन सकियो भने आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ । हाम्रो तर्फबाट गर्नुपर्ने सहयोगमा हामी तयार छौं । राज्यले पनि हामीलाई सही स्थान दिनुपर्ने देखिन्छ ।
प्रकाशित समय १०:१४ बजे




















