विकास साझेदारहरु नेपाललाई सहयोग गर्न तयार
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।
आयोग आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औं योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ । सोही क्रममा आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्तरुपमा गरिरहेका छन् । छलफलमा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडिसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्यायमा प्रवेश गर्ने बताइन् । १६औं योजनामा फल एलडिसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नुपर्ने उनको सुझाव थियो । अन्य सहभागी विकास साझेदारहरुले आफ्नो कन्ट्री प्रोगामलाई १६औं योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादात्म्यता मिलाउनुपर्ने बताएका छन् ।
आयोगका उपाध्यक्ष डा. श्रेष्ठले विकास साझेदारहरुबाट धेरै राम्रा सुझावहरु आएको बताए । नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यवाद दिंदै आएका सुझावहरु १६औं योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसीमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । आयोगले यसअघि बुधबार नै १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो ।
प्रकाशित समय २०:३७ बजे




















