गरिमा क्यापिटलले पायो म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धी ऐन तथा सो ऐनअन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने जनाएको छ ।
गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजीकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले उल्लेख गरेका छन् ।
प्रकाशित समय १७:०९ बजे





















