1100×100 Nabil Advert

मेलम्चीको खानेपानीमा षड्यन्त्र भएको आरोपसहित आन्दोलन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् । यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाईसकेका उनीहरूले चरणवद्धरुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन् । मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन नागरिकको हैसियतले आफूहरूले पहल थालेको संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले बताए ।

करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएकोप्रति स्थानीयबासी आक्रोसित छन् । मेलम्चीको पानी गत वर्षामा बाढीले क्षति पु¥याएपछि काठमाडौंमा झरेको छैन । आयोजनाको पहिलो चरणको काम सकिएपछि ०७७ सालमा काठमाडौंमा पानी आएको थियो । अहिलेसम्म आयोजनाको सम्पूर्ण काम समेत पूरा भइसकेको छैन भने मेलम्चीबाट ल्याइएको पानीसमेत निरन्तर छैन । वर्षेनि बाढीका कारण आयोजनामा क्षति हुने बित्तिकै लामो समयसम्म पानी बन्द हुने गरेको छ ।

काठमाडौंको कोटेश्वर क्षेत्रका बासिन्दाले चरणवद्ध रुपमा सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम गरिरहेका छन् । सोमबारदेखि सडकमा उत्रिएर आन्दोलनका थप कार्यक्रम अघि बढाउने संघर्ष समितिको तयारी छ । यसअघि काठमाडौंमा नेकपा एमालेले पनि मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन दबाबस्वरुप सडकमा प्रदर्शन गरेको थियो ।

नागरिकहरूले भने १२ मंसिरमा खानेपानी मन्त्री यादवलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री यादवले यथासिघ्र आयोजनाको मर्मत गरी पानी ल्याउने बचन दिएपनि अहिलेसम्म काम अघि बढेको छैन । शुक्रबार आयोजनास्थल पुगेर फर्किएका सांसद प्रदीप पौडेलले आयोजना स्थलमा धेरै काम नभए पनि सरकारको चासो कम देखिएको भनेका थिए । स्थानीयबासीहरूले भने सरकारले अटेरी गरेपछि आफूहरू थप संघर्षका कार्यक्रम गर्न बाध्य बनेको बताएका छन् ।

प्रकाशित समय १७:०८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु