एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधनले वित्तीय क्षेत्रमा अपूरणीय क्षति
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा यही कात्तिक ६ गते मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको अकल्पनीय एवं दुःखद निधन भएको थियो । श्रेष्ठको निधनले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) स्तब्ध एवं मर्माहत भएको जनाएको छ । उहाँको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको महसुश गरेको समेत सिविफिनले उल्लेख गरेको छ ।
सिविफिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ– कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आउनुभएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दीगो, अब्बल र विश्वासिलो बैंकको रुपमा स्थापित हुन सफल भएको छ । भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन्ट भेञ्चरको रुपमा नेपालमा प्रथमपटक सफलपूर्वक भित्र्याउनुभएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइसमेत प्रदान गरेको छ ।
सिविफिनको विज्ञप्तिमा भनिएको छ– नेपालको बैंकिङ क्षेत्रमा उहाँले पुर्याउनुभएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशील रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरु हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने छन् । यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । अभिभावकत्व गुमाई दुःखद क्षणमा रहनुभएका परिवार, आफन्त र एभरेष्ट बैंक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
यसैबीच एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकका परिकल्पनाकार संस्थापक एवं अध्यक्षको दुःखद निधन भएकोमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदनासमेत व्यक्त गर्नुभएको छ ।
एभरेष्ट बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– यस एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा २०८० कार्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा असामयिक एवं दुखद निधन भएको जानकारी गराऊँदछौं । स्वर्गीय वि.के. श्रेष्ठको कुशल नेतृत्व एवम् अभिभावकत्वमा यस बैंकले उदाहरणीय प्रगति गर्दै आफूलाई दीगो, दरिलो र विश्वासिलो बैंकको रुपमा स्थापित गर्न सफल भएको विदितै छ । श्रेष्ठको अन्त्येष्टि उनको इच्छाबमोजिम एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारीत वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको थियो । यस दुखद घडीमा सान्त्वना प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै शोकाकुल श्रेष्ठ परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’
प्रकाशित समय १८:१४ बजे





















