९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्धक कम्पनी एम ए पावर प्रालिले जनाएको छ । कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन् ।
आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद बिक्री गर्ने सम्झौता भएको छ । आयोजनाबाट हिउँदमा १८४ दशमलव ६७ गिगावाट आवर र वर्षायाममा ३७७ दशमलव ९३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट २०८६ वैशाख २२ गते व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) अन्तिम चरणमा रहेको र वित्तिय व्यवस्थापनका लागि नेपालीसँगै विदेशी लगानीकर्ताहरुसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए । एम ए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मस्र्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जनाकारी दिए ।
प्रकाशित समय २०:४० बजे



















