1100×100 Nabil Advert

गाउँ–गाउँमा सुविधा सम्पन्न विद्यालय, विद्यार्थी भने घट्दै

रामेछाप । रामेछापमा २०७२ सालको विनाशकारी भूकम्पले भत्काएका सबै विद्यालयका नयाँ भवन बने । २०७२ सालमा भूकम्प जाँदा जिल्लामा ४ सय १९ वटा विद्यालय थिए । ती मध्ये अधिकांश विद्यालयका कच्ची भवन थिए । तर अहिले सञ्चालनमा रहेका केही बाहेक सबै विद्यालयका पक्की भवन बनेका छन् । भूकम्प पछि भत्किएका विद्यालय पुनर्निर्माण लागि पुनर्निर्माण प्राधिकरणले जिल्लामा शिक्षा इकाई नै स्थापना गरेर विद्यालय निर्माणको काम अघि बढाएको थियो । पुनर्निर्माण प्राधिकरणको जिल्ला शिक्षा इकाईले २० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत माध्यमिक विद्यालयदेखि आधारभूत तहसम्मका विद्यालयमा पुनर्निर्माण काम अघि बढाएको थियो ।
जिल्लामा विद्यालय व्यवस्थापन समिति मार्फत् साना खालका विद्यालय भवन निर्माण गरिएको थियो भने केही विद्यालय भवन सामाजिक संस्था मार्फत् बनाइएका छन्न् । माध्यमिक तहका ५९ वटा ठूला विद्यालयहरू दातृ निकायको सहयोगमा निर्माण गरिएका छन् ।

 

रामेछाप जिल्लामा हाल ९२ वटा माध्यमिक तहका सामुदायिक विद्यालय छन् । ती मध्ये ५० वटा माध्यमिक विद्यालयका सुविधा सम्पन्न ठूला भवनहरू बनेका छन् । नौ वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  अन्य विद्यालयमा पनि आवश्यकता अनुसारका भवन बनिसकेका छन् । जिल्ला शिक्षा समन्वय इकाई रामेछापका प्रमुख भरतबहादुर भट्टराईका अनुसार १४ वटा रेक्ट्रोफिटिङ सहित ५९ वटा ठुला भवनहरू निर्माण व्यवसायी मार्फत् निर्माण कार्य भएकामा रेक्ट्रोफिटिङका ६ वटा र अन्य तीन बाहेक सबै विद्यालय भवन निर्माण भई विद्यालयलाई हस्तान्तरण भइसकेका छन् । बाँकी नौवटा भवनको फिनिसिङलगायतका केही काम बाँकी छन् । उपभोक्ता समिति र सामाजिक संस्था मार्फत् बनेका भवन पनि भूकम्प प्रतिरोधी र गुणस्तरीय बनेका छन् । गाउँ–गाउँमा बनेका ठुला विद्यालय भवन टाढैबाट देखिन्छन् र टल्किन्छन् । डाँडा डाँडामा देखिने विद्यालय भवन टाढैबाट चिनिन्छन् । विद्यालय भवन त बने तर विद्यालयमा विद्यार्थी सङ्ख्या भने दिनदिनै घट्दै गएको छ । ‘गाउँ–गाउँमा दरबार जस्ता स्कुल बनेका छन्, तर के गर्नु विद्यार्थी छैनन्, गाउँमा स्कुल बनेका छन्, छोरा–छोरी पढाउन भनेर मानिसहरू शहर पसेका छन्’, मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईं भन्छन् ।

 

गाउँमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा सुविधा सम्पन्न विद्यालय खालि बन्दै गएका छन् । मावि सञ्चालन भएको अधिकांश विद्यालयमा एक सयदेखि एक सय ५० को बिचमा विद्यार्थी संख्या रहेको छ । ‘एकातिर गाउँका विद्यालय खालि छन्, अर्कोतिर छोरा–छोरी पढाउनको लागि गाउँ छाडेर सहर पस्ने संख्या बढ्दै जाँदा गाउँका जग्गा बाझिने र गाउँ खालि हुने क्रम बढ्दो छ, गाउँमा बुढा बुढी मात्रै छन्’, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेल भन्छन् ।

गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन् । ‘शिक्षकलाई आफ्नो पढाउने कला प्रति आफैंलाई विश्वास छैन, आफ्ना छोरा छोरी सहरका बोर्डिङमा पढाउने, आफू चाहिं सामुदायिक विद्यालयमा पढाउने, अनि उनीहरूको पढाइमा कसरी अरूले विश्वास गरुन्’, उनले भने । श्रेष्ठले जति कुरा गरे पनि गुणस्तरीय शिक्षा दिन नसक्नु नै गाउँका विद्यालयमा विद्यार्थी थेग्न नसक्नुको कारण भएको बताए । गुणस्तरीय शिक्षा दिने हो भने गाउँका बच्चा गाउँमा नै बस्ने र बाहिर गएका पनि गाउँकै विद्यालयमा फर्कने उनको भनाइ छ । ‘अब पूर्वाधारको अभाव छैन, शिक्षकको पनि अभाव छैन, गुणस्तरीय शिक्षाकै अभाव छ, शिक्षकको मेहनतको अभाव छ ।’

 

प्रकाशित समय १४:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु