पेट्रोलियम पदार्थको मूल्यसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएर मूल्य घटेलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको उनले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले घटेको भाडादर आजदेखि नै लागू हुने भन्दै त्यसको अनुगमन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको बताए । उनले भने, ‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ, पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायमसम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजनको लागि उनले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।
हिजोमात्रै स्वचालित मूल्य प्रणाली अनुसार आइतबार मध्येरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले एलपी ग्याँसमा कुनै पनि मुनाफा नराख्ने र डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने निर्णय गरेको जानकारी दिएका थिए । उनले हवाई इन्धनको हकमा भने मूल्य समायोजन गर्ने अधिकार निगम संचालक समितिमा रहने पनि बताए । पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र डिजेलमा प्रतिलिटर ४ रूपैयाँ घटेको छ । एलपी ग्याँसमा प्रतिसिलिण्डर १० रूपैयाँ घटाइएको छ ।
प्रकाशित समय १४:०९ बजे