हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न शुरु
काठमाडौं । हुलाक बैंकमा रहेका खाता एवं वचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न शुरु गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार आज (मंगलवार) देखि हस्तान्तरणको प्रक्रिया शुरु भएको हो ।
असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक वचत खाताका कारोवार पनि रोक्का रहने छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक वचत बैंकका खाताहरुलाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरिका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक वचत बैंकका खाता हस्तान्तरण गर्न थालिएको छ ।
राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया शुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले दिएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक वचत बैंकमा रहेका वचतकर्ताका खाता एवं वचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी हुलाक वचत बैंकहरुको व्यवस्थापन गर्नका लागि सञ्चालनमा रहेका हुलाक वचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।
प्रकाशित समय १६:११ बजे


















