डाबर नेपालको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको छ : सिईओ भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट डाबर नेपालको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताएका छन् । सिईओ भट्टले डाबर नेपालले नेपालमा थप लगानीका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सो कुरा बताएका हुन् ।
बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले ९ अर्ब ६८ करोड रुपैयाँ लगानी थप्ने परियोजनामा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुनर्लगानी परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रालिका तर्फबाट बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरे ।
लगानी बोर्डले यसअघि नै डाबर नेपालको लगानी थप्ने प्रस्तावलाई स्वीकृत गरेको थियो । डाबर नेपाल प्रालिका विजनेस हेड वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताए । लगानी बोर्डका सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डाबर नेपालको पुनर्लगानी थप्ने विषयले ठूलो सन्देश दिने बताउँदै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताहरुलाई यसले नेपालमा लगानी गर्न थप उत्प्रेरित गरेको बताए ।
प्रकाशित समय २२:२५ बजे