1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

परिसंघको पहलमा नेपालमा चिनियाँ लगानी भित्र्याउन सम्मेलनको आयोजना

काठमाडौं । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा ‘नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३’ आयोजना गरिएको छ । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्नुभयो । उहाँले फोरमले नेपाल चीनको विद्यमान व्यापारिक सम्बन्धलाई सुदृढ गर्न, आर्थिक तथा व्यापारिक साझेदारीका नयाँ क्षेत्रहरू खोज्न उत्कृष्ट अवसर प्रदान गर्ने बताउनुभयो । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार रहेको भन्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत चीन भएकोे बताउनुभयो । ‘हाम्रा छिमेकीहरूले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीको स्तरवृद्धि गरी नेपालको विकास र समृद्धिको अवसरका फराकिलो मार्गहरू खोल्नेछ भन्ने हाम्रो विश्वास छ’ उहाँले भन्नुभयो, ‘हामी हाम्रा छिमेकीहरूको विशाल बजारहरूमा हाम्रा उत्पादनहरूको सजिलो र वृहद बजार पहुँचको आशा गर्छौं ।’

 

विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिन्छ भन्नेमा सचेत रहेको भन्नुहुँदै प्रधानमन्त्रीले नीतिमा निरन्तरता र स्थिरताको वातावरण बनाउने बताउनुभयो । साथै उहाँले नेपालले लगानी प्रणालीमा ठूला सुधारहरू गरेको भन्दै प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गरेको बताउनुभयो । उहाँले जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानी गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालको कानूनले लगानीबाट कमाएको आम्दानी लैजान कुनै समस्या नरहेको भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव नगरिने समेत बताउनुभयो । प्रधानमन्त्री दाहालले नेपालको चीनसँगको बढ्दो व्यापार घाटा र चीनबाट आएको एफडीआईको प्रतिबद्धता र वास्तविक लगानीमा देखिएको कमीका केही समस्या यस्ता फोरमले व्यावहारिक समाधानका साथ सम्बोधन गर्ने प्रयास गर्नुपर्ने पनि बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई देशको हितमा पारस्परिक सम्बन्धलाई मजबुत बनाउन तथा नयाँ व्यापारिक सम्पर्क स्थापित गर्ने उद्देश्यले फोरमको आयोजना गरिएको बताउनुभयो । नेपालको लागि चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्नुहुँदै अध्यक्ष अग्रवालले उत्पादनमुलक उद्योग, सूचना प्रविधि, सिमेन्ट, पर्यटन, जलविद्युतलगायतका क्षेत्र लगानीका लागि अत्यन्त उपयुक्त रहेको बताउनुभयो । पूर्वाधार एवं निर्माणका क्षेत्रमा र उद्योगहरुमा भएको चिनियाँ लगानी सफल रहेको र थप चिनियाँ लगानी खोजिरहेको उहाँले बताउनुभयो । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले नेपालमा चिनियाँ लगानी बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताउनुभयो । स्वच्छ ऊर्जा, जलविद्युत, विद्युतीय अटोमोबाइल लगायतका नयाँ विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । नेपालले चीनमा निर्यात विस्तार गरेको भन्दै उहाँले दुई देशबीचको सीमाहरुमा दुईतर्फी व्यापार र यात्रु आवागमन पुनः सुचारु गर्न सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

 

नेपाल चिनियाँ नागरिकका लागि सबैभन्दा आकर्षक गन्तव्य रहेको भन्दै उहाँले कोडिभ १९ पछि मार्च १५, २०२३ देखि चीनको समूह भ्रमणको गन्तव्यमा नेपाललाई समावेश गरिएको बताउनुभयो । यसले सन् २०२३ मा नेपालको सुन्दर परिदृश्य र नेपाली जनताको न्यानो आतिथ्यताको अनुभव गर्न थप चिनियाँ पर्यटक नेपाल आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष चाङ साओ गाङले चीन नेपालको विदेशी पुँजीको सबैभन्दा ठूलो स्रोत र पर्यटकको दोस्रो ठूलो बजार रहेको बताउनुभयो । उहाँले चिनियाँ आधुनिकीकरण र चीनको उच्च गुणस्तरीय विकासले नेपालसहित अन्य मुलुकको विकासमा नयाँ अवसरहरू ल्याउने बताउनुभयो । नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरमले द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोगको जगलाई थप सुदृढ गर्ने र चिनियाँ तथा नेपाली व्यापारिक समुदायलाई नयाँ यात्रातर्फ अघि बढाउने लक्ष्य राखेको बताउनुभयो । नेपालमा विद्युत, सञ्चार र सडक निर्माण जस्ता महत्वपूर्ण पूर्वाधार विकास र लगानीको ठूलो माग रहेको भन्दै चीनसँग राम्रो औद्योगिक प्रणाली र पूँजी, प्रविधि र अनुभवबाट नेपालले फाइदा लिनसक्ने बताउनुभयो । उहाँले सीसीपीआइटी चीनको सबैभन्दा ठूलो व्यापार र लगानी प्रबद्र्धन गर्ने एजेन्सी रहेको र नेपालमा नेपाल उद्योग परिसंघसँगको सहकार्यमा दुई देशबीच व्यापार र लगानी सहयोगलाई सहज बनाउन आफूहरु तयार रहेको बताउनुभयो ।

 

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालका लागि चिनियाँ लगानी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले चिनियाँ लगानीकर्ताले सञ्चार, खानी, उत्पादनमूलक उद्योगलगायतका क्षेत्रबाट लाभ लिन सक्ने बताउनुभयो । फोरमको विजनेस सेसनमा लगानी नीति, सुविधा तथा लगानीको अवसरका क्षेत्रहरुको विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, उद्योगमा लगानीको अवसरका विषयमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाह, अटो क्षेत्रको विषयमा बीवाईडीका नेपाल निर्देशक हु झिउ, पूर्वाधार तथा निर्माण क्षेत्रको विषयमा नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, प्रविधिको विषयमा वाङ झिन्सान, नेपालको पर्यटन उद्योगको विषयमा परिसंघका महानिर्देशक दीपकराज जोशी, जडिबुटी क्षेत्रको विषयमा जडिबुटी उत्पादक संघ नेपालका अध्यक्ष प्रेमराज तिवारीले प्रस्तुती दिनुभएको थियो भने परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले समापन मन्तव्य दिनुभएको थियो ।कोडिभ १९ पछि पहिलो पटक भएको नेपाल चाइना इन्भेष्टमेन्ट र विजनेस फोरम २०२३ मा चिनियाँ ६० भन्दा बढी लगानीकर्ता, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ गभर्निङ्ग काउन्सिलका सदस्यहरु, स्वदेशी उद्योगी व्यवसायी सहित १५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु