दुर्गा प्रसाईको आन्दोलनमा हाम्रो समर्थन छैन : संयोजक कटुवाल

काठमाडौं । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताउनु भएको छ । उहाँले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रसाईले नेतृत्व गरेको आन्दोलन र नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ–संस्थाहरुले संयुक्तरुपमा गरेको आन्दोलन फरक रहेको जानकारी गराउनु भएको हो । उहाँले दुर्गा प्रसाईले गरेको आन्दोलनमा उठाएका केही माग मिल्न गएकाले एउटै आन्दोलन भन्न नमिल्ने बताउनु भयो । संयोजक कटुवालले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ–संस्थाहरुले संयुक्तरुपमा गरेको आन्दोलन बैंकको ऋण नतिर्न र बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नको लागि नभएको स्पष्ट पार्नुभयो । उहाँले व्यवसायीहरुले उच्चरुपमा बृद्धि भएको बैंकको ब्याजदर एकल विन्दुमा बनाउन र तत्काल तिर्नुपर्ने किस्ता बजारमा तरलता लगायत व्यापारमा आएको मन्दीको कारण समय माग गर्दै आन्दोलन गरिएको बताउनुभयो । उहाँले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ–संस्थाहरुले बैंकको ब्याज र ऋण तिर्न नसक्ने नभनेको बताउनु भयो ।
कटुवालले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा व्यवसायिक संघ–संस्थाहरुले गरेको आन्दोलनलाई सरकारले प्रसाईको आन्दोलनसँग जोडेर नहेर्न आग्रह गर्नुभयो । उहाँले प्रसाईको आन्दोलनमा व्यवसायी महासंघहरुको कुनै पनि संग्लनता र समर्थन नभएको जानकारी दिनु भयो । उहाँले व्यवसायी महासंघहरुले बैकिङ प्रणाली विरुद्धमा र ऋण नतिरे पनि हुन्छ भनेर आन्दोलन नगरेको बताउनु भयो । उहाँले सरकारले नेपाल राष्ट्रिय व्यवसायी महासंघको लगायत अन्य महासंघ र संघहरुलाई उपेक्षा गरेको बताउनुभयो । उहाँले वास्तविक समस्यामा परेका व्यवसायीहरुले उठाएका जायज माग सम्बोधन गर्न र व्यवसायीहरुलाई छलफलमा समेत नबोलाएको गुनासो गर्नु भयो ।
बैंकको उच्च ब्याजदर एकल बिन्दुमा ल्याउनुपर्ने माग र धितो लिलामी गर्न नपाउने तथा पत्रपत्रिकामा फोटो राख्न नपाउने माग राख्दै सडक आन्दोलनमा रहेका व्यवसायीहरुलाई सरकारले वास्ता नगरेको भन्दै पहुँचवाला उद्योगी व्यवसायीहरुलाई मात्रै बोलाउनु राम्रो नभएको गुनासो गर्नु भयो । उहाँले राज्यका नीतिले नछोएको र राज्यले सधैं उपेक्षा वास्तविक मारमा परेका व्यवसायीलाई गरिरहेको बताउनुभयो । उहाँले नेपालका राजनीतिक दलले समेत पहुँचमा रहेका एकाध व्यवसायीहरुलाई मात्रै छलफल गर्ने गरेको उल्लेख गर्नु भयो । उहाँले पछिल्लो समय बैंकहरुले आफूखुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको र व्यवसायीलाई कालो सूचिमा राखेर मानमर्दन भइरहेको बताउनुभयो । उहाँले आन्दोलनरत १० वटा व्यवसायी महासंघ र ५० वटा व्यवसायिक संघ–संस्थाहरु पुनः देशव्यापीरुपमा सडक आन्दोलनमा उत्रने बताउनुभयो ।
प्रकाशित समय १७:३१ बजे