सबैलाई पैसा कमाउने इच्छा छ तर सीमा र विधिमा रहेर गर्नुपर्छ : मन्त्री राई

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले धेरै पैसा कमाउन सबैलाई इच्छा भए पनि सीमा र विधिमा रहेर त्यो काम गर्नुपर्ने बताए । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले आज आयोजना गरेको ‘सहकारीका संकट : समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सो कुरा बताएका हुन् । उनले भने– ‘सबैलाई पैसा कमाउने इच्छा छ । सबै धनी हुन चाहन्छौं तर, सिमा र विधिमा रहेर गर्नुपर्छ । कानुनलाई अवज्ञा नगरी गर्नुपर्छ । धनी हुने इच्छा भयो भन्दैमा सिमा र विधि मिच्नु हुँदैन ।’ उनले सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियम बमोजिम कारबाही गर्नुपर्ने बताए ।
मन्त्री राईले भने– ‘केही सहकारी संस्थाले विधि भन्दा बाहिर गए होलान् तर, गाँउठाँउमा राम्ररी चलेका छन् बजारमा सहकारी सकियो भन्ने हल्लाले यो समस्या आएको हो गाउँ–गाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।’
मन्त्री राईले सहकारीमा देखिएका समस्या समाधानका लागि आफू सधै सकारात्मक रहेको सरोकारवालामार्फत आएका लिपिबद्ध सुझावलाई आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने बताए । उनले भने– ‘आजको यो गोष्ठीमा भएको निष्कर्षलाई तपार्इंहरुले लिपी बनाएर ल्याउनुहोस् । त्यसलाई कार्यान्वयन गर्न मैले ढिला गरें भने तपाईहरुले प्रश्न चिन्ह गर्न सक्नुहुन्छ । त्यसलाई तुरुन्त कार्यान्वयन गर्छु ।’
उनले भने– ‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।’
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव डा. दामोदर रेग्मीले सहकारीहरुले बैंकको जस्तो काम गर्न खोज्दा समस्या आएको बताएका छन् । सचिव रेग्मीले सहकारीले आफ्नो मर्म अनुसार काम नगरेका कारण अहिलेको अवस्था आएको बताए । सहकारीका सञ्चालकहरुले बिना धितो ऋण लिने, नियमभन्दा बाहिरको काम गर्ने गर्नाले समस्या आएको उनले बताए । मन्त्रालयले अहिलेसम्म बचतकर्ताको ५० करोड रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिए ।
उनले सहकारीमा शुद्धिकरणको पनि आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले अहिले सहकारीहरु कमजोर भएकाले सबैले प्रहार गरिरहेको बताए । उनले कुनै पनि घटना हुँदा त्यसको प्रभाव कमजोर पक्षमा बढी पर्ने भएकाले अहिले कमजोर रहेको सहकारी क्षेत्रलाई बढी प्रभाव परेको बताए । उनले भने– ‘कोभिडको समयमा स्वास्थ्यमा समस्या भएकाहरुलाई बढी प्रभाव परेको जस्तै अहिले आर्थिक मन्दीले सहकारीलाई बढी चुपुवामा पारहेको छ ।’
सहकारीसँग सम्बन्धित सबै क्षेत्रका संस्था तथा व्यक्तित्वहरुलाई एउटै थलोमा भेला गराएर समस्या सुनाउने, त्यसको गहिराईमा पुग्ने र समस्याको समाधान खोज्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैकका सञ्चालक चिन्तामणि शिवाकोटी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष परितोष पौडेललगायतले सहकारीमा देखिएका समस्या र समाधानका उपायका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले टिप्पणी गरेका थिए । कार्यक्रममा सहभागी विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापकलगायतले सहकारी संस्थाहरुलाई परेको पीडा र त्यसको समाधानका लागि नेपाल सरकारले भूमिका खेलिदिनुपर्ने बताएका थिए ।
मुलुकमा आर्थिक बेथितिले सबै क्षेत्रलाई असर पारेको छ । हरेक क्षेत्रमा समस्या छन् । कुनै पनि समस्या विकल्पविहीन हुँदैनन् । समस्यालाई समस्यामात्र छन् भनेर लेखेरमात्रै बस्नुभन्दा त्यसको समाधानको पहल पनि गर्नुपर्छ भन्ने उद्देश्यले आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले देशको अर्थतन्त्रका विभिन्न खम्बाहरुमध्ये एउटा महत्वपूर्ण खम्बा सहकारी क्षेत्रको समस्या र त्यसको समाधानका विषयमा अन्तक्र्रिया कार्यक्रम गरेको आयोजक पक्षले जनाएको छ ।
प्रकाशित समय २२:३४ बजे