V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

उद्यमी एवं कवि बसन्त चौधरीका फेब्रुअरी १४ मा दुईवटा पुस्तक लोकार्पण हुने

काठमाडौं । उद्यमी एवं कवि बसन्त चौधरीले यस वर्षको ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो एकल कविता वाचन गर्ने भएका छन् । कविका रुपमा समेत आफ्नो छवि बनाएका चौधरीले थुपै्रपटक आफ्ना रचनाहरुलाई संसारमा रहेका नेपालीहरु सामु पुर्‍याएका छन् । उद्यमी एवं कवि चौधरीले ‘भ्यालेन्टाइन डे’ कै दिन एकल कविता वाचन कार्यक्रम आयोजना गर्न लागेका हुन् । यस पटकको ‘भ्यालेन्टाइन डे’ फेब्रुअरी १४ अर्थात् फागुन २ गते परेको छ । ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । फागुन २ गते दिउँसो ३ः४५ बजेदेखि काठमाण्डौको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्य चौधरी पोखिनेछन् । भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै उल्लेख्य काम हो ।

एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो दिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन् । सो कार्यक्रममा सहभागिताका लागि ९८१९१४०४९० मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ ।

बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो । उनले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर प्रेमिल कविताहरु प्रस्तुत गरेका थिए । नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् । चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हास्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010