NIMB Add_1100x110

एकीकृत कारोबार शुरु गर्‍यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड गरी दुईवटा बैंक मर्ज भई नेपाल इन्मेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि औपचारिकरुपमा एकीकृत कारोबार शुरु भएको छ । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार शुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको जनाएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्तरूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । यी दुई बैंकबीच शेयर स्वाप अनुपात १००:९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेकी छिन् ।

बैकिङ क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहिआएका दुवै बैंक एकआपसमा गाभिएपश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकहरुमा अग्रता हासिल गर्न सक्षम हुनेछ भन्ने धारणा अध्यक्ष पाँडेले व्यक्त गरे । यसका साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरमा जानका लागि प्रेरित गरेको बताए ।

यसैगरी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र कामअनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापनजस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै शेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास उनले व्यक्त गरे ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी रु ३४.१२ अर्ब, कूल पूँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, त्यसैगरी कूल निक्षेप रु ३६०.२ अर्ब तथा कर्जा लगानी रु ३२९.०६ अर्ब गरी कूल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु