Nepal_Bangladesh_Bank_554x100px.gif

कतारबाट राज रेग्मीले गरे एनआरएनए युवा उपाध्यक्षमा लड्ने घोषणा

के–के छन् उनका एजेण्डा



आगामी अक्टोवरमा हुने १० औं महाधिवेशनबाट छानिने नयाँ कार्यसमितिका लागि कतारबाट वर्तमान मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१–२३ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ । एनआरएनएले यस बर्षदेखि युवा उपाध्यक्ष पद राखेको हुँदा रेग्मीको उक्त पदमा उम्मेदवारी आएको हो ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ । रेग्मीले भनेका छन्–‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् । एनआरएनए युवा उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुलेका रेग्मी सम्भवत निर्विरोध निर्वाचित हुनेछन् । कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन् । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्र्तआत्मादेखि स्वागत गरेका छन् ।
विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक गरिरहेकोमा उनको चर्चा विश्वभर छ । मध्यपूर्व युवा विभागबाट नै आयोजना गरिएको कार्यक्रममा विश्वभरका दोश्रो पुस्ताको सहभागिता रहेको छ । मध्यपूर्वमा रहेका युवाहरुलाई टेवा पुर्‍याउने उदेश्यले छुट्टै कोष स्थापानालागि ३६ सय डलर सहयोग गरेका रेग्मीले युवालाई लक्षित कार्यक्रमहरु भोलिका दिनमा अझ प्रभावकारीढंगबाट ल्याउने बताएका छन् ।

विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै रेग्मीले भनेका छन्–‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे भोलिका दिनमा आईसीसी युवा उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

यस्ता छन् राजले अघि सारेका एजेण्डाहरु :

युवा स्वरोजगार : नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनएमार्फत् रोजगार सृजना गर्ने र उपलब्धीमूलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने प्रतिवद्धता रेग्मीको छ ।

सामूहिक लगानी : आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानीका लागि पहल गर्ने रेग्मीको प्रतिवद्धता छ ।

सीप र पूँजीको सदुपयोग : विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने रेग्मीको अर्को एजेण्डा छ ।

युवाको आकर्षण बढाउने : विदेशमा रहेका विभिन्न पेशा तथा क्षेत्रमा रहेका युवाहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरैयुवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउने जसका लागि युवा केन्द्रित कार्यक्रमहरु संचालन गर्ने रेग्मीको अर्को प्रतिवद्धता छ ।

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी : वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने रेग्मीको अभियान छ ।

राहत कोष स्थापना : वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरु समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने रेग्मीको प्रतिवद्धता छ ।

नेपाली कला सँस्कृतिको जगेर्ना : विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषा प्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने रेग्मीको योजना छ ।( जस्तै : गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत आयोजना गर्ने)

स्मार्ट एनआरएनए बनाउन : विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा एनआरएनएलाई आगाडि बढाउने रेग्मीको एजेण्डा छ ।

यसका अलावा एनआरएनएका आफ्ना विधान तथा पद्धति अनुसार चल्ने र स्मार्ट एनआरएन बनाउन सबैको साथ, सहयोग र समर्थन अनुसार अगाडि बढ्ने रेग्मीको प्रतिवद्धता छ । जुजारु, सफल र उर्जाशिल साझा उम्मेदवार भएकाले रेग्मीलाई एनआरएन युवा उपाध्यक्ष बनाउन सवै एनआरएनहरु आतुर छन् ।

 

प्रकाशित समय १२:५७ बजे

nlic_281px150pxl_1.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु