कोरोना भाइरसबाट अमेरिकामा ७ लाख बढी प्रभावित
छिमेकी मुलुक भारतमा तीव्ररुपमा फैलिदै, सीमामा अझ कडाई गर्नुपर्ने

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार विश्वभरका २१० देशमा कोरोना भाइरसले प्रभाव पारिसकेको छ । जसबाट कूल २२ लाख ५० हजार ७ सय ९ प्रभावित भएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार २ सय ५६ पुगेको छ । कुल संक्रमितमध्ये ५ लाख ७२ हजार १ सय ५ जना यो रोगको उपचार गराई फर्किएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकाका जनताले ज्यान गुमाउनु परेको छ । अमेरिकामा मात्रै ३७ हजार १ सय ५८ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ७ लाख १० हजार २१ जना कोरोना भाइरसबाट प्रभावित भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको यो भाइरसले चीनमा ४ हजार ६ सय ३२ को ज्यान गएको छ । जबकि अमेरिकामा त्यसको ८ गुणाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी बढी प्रभावित हुने देशहरुमध्ये स्पेनमा २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने १ लाख ९० हजारभन्दा बढी प्रभावित भएका छन् । इटालीमा १ लाख ७२ हजारभन्दा बढी प्रभावित हुँदा २२ हजार ७ सय ४५ ले ज्यान गुमाएका छन् । त्यसैगरी फ्रान्स, जर्मनी, बेलायत, इरान, टर्की, बेल्जियम, ब्राजिललगायत २१० वटा देशहरु कोरोना भाइरसको आतंक फैलिएका मुलुकहरु छन् ।
हालसम्मको तथ्यांकअनुसार भारतमा १४ हजार ३ सय ५२ जना कोरोना भाइरसबाट प्रभावित भएकामा ४ सय ८६ जनाको ज्यान गइसकेको छ । नेपालमा जम्मा ३० जनामा कोरोना भाइरसको प्रभाव देखिएको छ भने ती मध्ये २ जना उपचारपछि घर फर्किइसकेका छन् ।
प्रकाशित समय ०९:२३ बजे