‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवा वर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’को शुभारम्भ गरेको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउने छन् । यस खाताअन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाताबाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । यो खाता पूर्णरुपमा डिजिटल प्रविधि तथा कागजरहित हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहक वर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्नमिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत् सामान वा सुविधा खरीद गर्दा २० प्रतिशत सम्म नगद फिर्ता हुने योजना सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
प्रकाशित समय २१:४० बजे





















