MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

भट्टराईले ल्याए ‘आहा हिमाल’

काठमाडौं । नेपाल माउण्टेन एकेडेमीका प्रशासकीय अधिकृत एवं नियात्राकार उत्तम भट्टराईको ‘आहा हिमाल’ नामक पुस्तक विमोचन भएको छ । लामो समयदेखि पर्यटन, साहित्य र सञ्चार क्षेत्रमा समेत सक्रिय रहेर कलम चलाइरहेका भट्टराईको सो पुस्तक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, लेखिका लाक्पा फुटी शेर्पा, रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराई र स्वयं कृतिकार उत्तम भट्टराईले सो कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको बताए । उनले ‘आहा हिमाल’ पुस्तकले नेपाली पर्यटनको क्षेत्रमा धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा समेत यो विशेष कृतिका रुपमा जान सक्ने बताए ।

कार्यक्रममा नियात्राकार युवराज नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचार–प्रसारमा ‘आहा हिमाल’ कृतिले अहम् भूमिका खेल्ने आशा राखेको बताए । नेपाल माउण्टेन एडेकेमीकी पूर्व कार्यकारी निर्देशक समेत रहेकी लाक्पा फुटी शेर्पाले ‘आहा हिमाल’ मार्फत् नेपालका हिमाल र यसको पर्यटकीय सौन्दर्यको गहिरो चर्चा गरेकोमा लेखक भट्टराईलाई बधाई दिइन् । नेपाल माउण्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बहुप्रतिभाका धनी लेखक भट्टराईसँग धेरै क्षेत्रको ज्ञान रहेको बताउँदै अनुभूतिको अथाह शक्ति रहेको नेपाली पर्यटन र हिमालको जनजीवनको सुन्दर संयोजन नै ‘आहा हिमाल’ रहेको उल्लेख गरे । ज्ञवालीले विश्व पर्यटन दिवसकै दिन ‘आहा हिमाल’ पुस्तक विमोचन गर्न पाउँदा अत्यन्त खुशी भएको बताए । रोजगार मिडियाका प्रबन्ध निर्देशक उद्धव भट्टराईले नेपाली पर्यटन र यात्रा साहित्यमा ‘आहा हिमाल’ले ठूलो परिचय दिनसक्ने बताए । कृतिकार उत्तम भट्टराईले यो आफ्नो पहिलो कृति भएको बताउँदै नेपालका विभिन्न हिमाली क्षेत्रमा घुम्दाका अनेकौं अनुभूतिमार्फत् नेपाली समाज र पर्यटकीय संसारलाई उतार्ने प्रयास आफूले ‘आहा हिमाल’ मार्फत् गरेको बताए ।

प्रकाशित समय २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु