1100×100 Nabil Advert

नेपालमा विकासे रकमको दुरुपयोगको नमूना : नौ वर्षमा पनि बनेन चिस्यानगृह

पर्वत । मोदी गाउँपालिका-२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।

 

स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ । आफ्नै घर आँगनमा चिस्यानकेन्द्र बनेका देख्दा उत्साहित किसान त्यसले पूर्णता नपाउँदा खिन्न छन् । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा रु १३ लाख ५० हजार मा खरिद गर्ने गरी तमसुक गरिएको थियो ।

 

चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार सुरुको वर्ष रु ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो, तर रु २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । रु २४ लाख विनियोजन भएपछि काम सरु गरिहाल्यौँ’, उहाँले भन्नुभयो, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।’

 

योजनाअनुसार ५० टन क्षमताको दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो । मोदी गाउँपालिका-२ देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यानकेन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भए पनि सुनुवाइ नभएको बताउनुभयो । जग्गा व्यवस्थापनको लागि वडाबाट रु १५ लाख विनियोजन पनि गरेको भए पनि जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि रु चार करोडभन्दा बढीको सुन्तला उत्पादन हुन्छ । क्याङ र लेस्पार आलु उत्पादनको लागि उर्बर भूमि हो । यहाँको आलु र सागसब्जीको बीउ स्थानीय बजारलगायत सदरमुकाम कुस्मा र पोखरासम्म बिक्री हुने गरेको छ ।

प्रकाशित समय ११:१६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु