1100×100 Nabil Advert

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

काभ्रेपलाञ्चोक। बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ ।

शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुनसकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो ।

सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ । उनीहरूलाई धुलिखेल र भकुण्डे ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय शरणमा बसेका छन् । रोशीमा ११ जनाको मृत्यु भएको छ ।

पानीले बिपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ । अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ ।

दुई दिनको अविरल वर्षाका कारण बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती-११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

प्रकाशित समय ११:३० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु