सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानून र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभएको छ ।
‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ’, मन्त्री शर्माले शुभकामना सन्देशमा भन्नुएको छ, ‘सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।’
सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गर्दै उहाँले सन्देशमा यससँग सम्बन्धित परियोजना विकास गरेर त्यसलाई कार्यान्वयन गरी समृद्ध नेपाल निर्माणको आकांक्षा पूरा गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
‘तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरैभन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको छ’, मन्त्री शर्माले भन्नुभएको छ ।
उहाँले सुरक्षित सूचना प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि स्थापित गर्ने कार्यमा ठोस योगदान गर्न सबैमा अपिलसमेत गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको र राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका उहाँको भनाइ छ ।
‘आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ’, मन्त्री शर्माले भन्नुभएको छ, ‘डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीव्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ ।’ आज ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ ।
प्रकाशित समय ०९:०४ बजे



















