1100×100 Nabil Advert

झापामा २५ हजार क्षमताको रंगशाला बन्दै

झापा । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माण पक्षको छ । झापामा ब्यवस्थित रंगशाला नहुँदा ठुलो रकम खर्च गरेर प्रतियोगिता गर्नुपर्ने बाध्यता छ । स्थानीय तहले सिमित बजेट विनियोजन गर्दा प्रतियोगिता त हुन्छ, तर भौतिक पुर्वाधारमा भने हालसम्म प्रभावकारी लगानी हुन सकेको छैन ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुद प्रेमीको भावना अनुसार स्थानीय र केन्द्रिय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको छ । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला निर्माणमा साथ दिंदा बहुबर्षे योजना अगाडि बढ्न सम्भव भएको हो । शिवसताक्षीको दुधे बजार उत्तरपटी निर्माण भइरहेको रंगशाला ४ बर्षमा निर्माण सम्पन्न हुने नगर प्रमुख मेघाहाङ थोप्राले जानकारी दिए ।
‘हामीले मञ्च र चेञ्जिङ रुम निर्माणका लागि १ करोड १० लाख रुपैंयाँ बजेट बिनियोजन गरेका थियौं, थोप्राले भने-‘६९ लाख ६१ हजार ९२१ रुपैंयाँमा ठेक्का लागेर यसै आर्थिक बर्षमा ती संरचना निर्माण सम्पन्न हुन्छ ।’ उनले नगरपालिकाले बहुबर्षे योजनामा समावेश गरेर रंगशाला निर्माण सम्पन्न गर्ने जानकारी दिए । ‘सडक निर्माण गर्याे भने दुईचार बर्षमा भत्किन्छ, पुल, पुलेसाको पनि अवस्था उही हो, नगर प्रमुख थोप्राले भने,‘मेरै कार्यकालमा दीर्घकालिन महत्व राख्ने भौतिक संरचना निर्माण गर्ने उदेश्य बमोजिम यता लगानी गर्ने निर्णय गरेका हौं ।’ थोप्राले भने,‘झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौं भनेर हामीले ठुलो लगानी यहाँ गरेका हौं ।’

रंगशालामा घेराबारा गरिएको छ । अहिले रंगशालाको जमिन सम्याउने काम सकिएको छ । आठ बिगाहा क्षेत्रफलमा निर्माणाधिन रंगशाला अहिलेसम्म मुलुककै ठुलो र सुविधा सम्पन्न हुने निर्माणकर्ताको भनाई छ । निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले रंगशालामा उपयुक्त हुने माटो बिछ्याउने काम भइरहेको बताए । ‘मञ्च र चेञ्जिङ रुम असारसम्ममा निर्माण भइसक्छ, अध्यक्ष थोप्राले भने,‘ त्यो बेलासम्म ग्राउण्डलाई पनि पुर्णरुपमा तयार गर्छौं ।’ थोप्राले बिर्तामोडमा रहेको डोमालाल राजबंशी रंगशालामा भएको जस्तै झार रोप्नका लागि खरिद गरिसकेको बताए ।
झापाका दर्शकमा देखिएको फुटबल खेलको क्रेजलाई विश्वब्यापी रुपमा परिचित गराउन सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता बमोजिम रंगशाला निर्माणको काम सुरु गरिएको हो । रंगशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको बिभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

अध्यक्ष थोप्राका अनुसार रंगशालाको प्यारापिट निर्माण गर्न जनसहभागिता जुटाइने छ । ‘समाजमा आफ्ना दिवंगत अग्रजको नाममा बिभिन्न पाटी, पौवा निर्माण गर्ने क्रम छ, तर त्यो स्थायी हुँदैन, उनीहरुको नाममा रंगशालामा योगदान गर्न लगाइयो भने बर्षाैंसम्म सम्झिन सकिन्छ ।’ थोप्राले जनसहभागिता अनुसार निर्माण हुने प्यारापिटमा उनीहरुको सम्झनामा नाम लेखिने समेत बताए ।
रतुवामाई बृक्षारोपण आयोजनाले चर्चेको जमिनमा रंगशाला निर्माण हुन लागेको हो । दमकदेखि माइधारसम्मको सो क्षेत्रमा दर्जनौ खेलमैदान भएपनि ब्यवस्थित नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी रंगशाला निर्माण हुने चर्चा चलेपनि राजनीतिक बिवादका कारण निर्माणमा ढिलाई भएको छ । दुधे रंगशाला निर्माण सम्पन्न भएपछि फुटबल लगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ ।

भद्रपुरमा रहेको मेची रंगशाला पनि हालसम्म अधुरो छ । रंगशाला निर्माणले पुर्णता नपाउँदा गतबर्ष सम्पन्न भएको भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको थियो । सताक्षीधामको यो रंगशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रंगशालाका रुपमा सुचिकृत हुनेछ ।

प्रकाशित समय १२:०८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु