1100×100 Nabil Advert

वर्षौ देखि सिंचाइ आयोजनामा अलपत्र

मन्थली (रामेछाप) । जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते सम्झौता भएको थियो । रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा ठोक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न गरी निर्माण व्यवसायीले रू ८३ लाख १७ हजार चार सय ३३ भक्तानीसमेत लिएपछि बाँकी काम अलपत्र भएको कार्यालयका इञ्जिनियर दिवाकर मण्डलले जानकारी दिनुभयो ।

सिँचाइ अभावका कारण वडा नं ३ सित्खामा हजारौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय गणेश माझीले बताउनुभयो । खेत भन्दामुनी सुनकोसी नदी बगिरहे पनि आफ्नो खेतमा सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको किसानको भनाइ थियो । किसानले माग गरेपछि सोही आधारमा प्रदेश सरकारबाट आयोजना आएको भन्दै माझीले आयोजना सम्पन्न होला र सित्खा फाँटमा बाह्रैमहिना खेती गरौँला भन्ने सपना अधुरै रहेको बताउनुभयो ।

स्थानीय रामगोपाल श्रेष्ठका अनुसार आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि निर्माण गरिएको पोखरीसमेत सुकेर चिराचिरा परिसकेको छ । “जिआइ पाइप राख्नुपर्नेमा पोलिथिन पाइप राखिएको छ । त्यो पनि अलपत्र छोडिदा बिग्रिसकेको छ”, उहाँले भन्नुभयो ।

निर्माण व्यवसायीले आयोजनाको काम अलपत्र छोडेपछि काम अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्दा पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले गुनासो गर्नुभयो । कामको जिम्मेवारी लिएका ठेकदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गरेकाले आयोजना अलपत्र परेको उहाँको भनाइ थियो ।

“निर्माण गरिएका संरचना पनि सबै भत्किसकेका छन्”, केसीले भन्नुभयो, “नदी छेउबाट ट्याङ्कीसम्म ल्याउन विछ््याइएका पाइप सबै टुक्राटुक्रा भइसकेका छन् । आयोजना निर्माण पुनः सुरु गर्ने सम्बन्धमा सरोकारवाला निकायले चासो दिएका छैनन् ।”

निर्माण व्यवसायीले काम बीचमै छाडेर हिँडेपछि पटकपटक पत्राचार गर्दासमेत व्यवसायी सम्र्पकमा नआएको डिभिजन कार्यालयका इञ्जिनियर मण्डलले बताउनुभयो । सम्झौता बमोजिम काम गर्न भनी बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएपछि ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

“कार्यालयसँग सम्पर्कमा नआएका निर्माण व्यवसायीले कम्पनी कालोसूचीमा परेको थाहा पाएपछि डिभिजन कार्यालय विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्”, इञ्जिनियर मण्डलले भन्नुभयो, “उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना अझैसम्म पनि अन्योलमा छ ।”

प्रकाशित समय १३:२० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु