आइएमई मार्फत विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने
काठमाडौं । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाई रहेको कम्पनी एम बैंक (मोबाइल बैङ्किग) बिच विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने सम्झौता भएको छ । सम्झौतासँगै एमबैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्स मार्फत् पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । यसरी मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्नेछन् ।
आईएमई लिमिटेड र एम बैंक टेक्नोलोजी प्रा.ली. बिच रेमिटेन्स बापत पठाएको रकम सिधै जम्मा गर्न सकिने सम्झौता भएको हो । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
एम बैकंले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैङ्किङ तथा भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ । एमबैंकसँग आबद्ध सहकारीहरूले रेमिटेन्सको रकम सिधै आफ्नो सहकारीको खातामा प्राप्त गर्न सक्नेछन्, । मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै सदस्यहरू लाभान्वित हुने विश्वास एम बैंकले लिएको प्रमुख महासेठले जानकारी दिए ।
एमबैंक ९ औं वर्षमा प्रवेश गरेको र सहकारी क्षेत्रमा लोकप्रिय मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म कम्पनी हो । स्थापना दिवसकै अवसरमा आईएमईसँग सहकार्य गरी रेमिटेन्स सेवालाई सुरुवात गरिएको एम बैंकले जनाएको छ ।
यसबाहेक एमबैंक मार्फत सहकारीका सदस्यलाई आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन, फोन, नेट, टिभी, रिचार्ज गर्ने, डिजिटल वालेट लोड गर्न सकिने, बिजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटेल बुक गर्न, क्यूआर भुक्तानी गर्ने, विभिन्न सरकारी सेवाको भुक्तानी गर्ने लगायतका अन्य विभिन्न सेवाहरू सहजै लिन सक्ने सुविधा पनि छ ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २४ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
प्रकाशित समय १२:१० बजे




















