आधुनिक कतारका शिल्पकार : फादर अमिर शेख हमद बिन खलिफा अल थानीको स्वर्णिम युग
कतिपय व्यक्तित्वहरू यस्ता हुन्छन्, जसको जीवन केवल राजनीतिक नेतृत्वको एउटा अध्यायमा सीमित हुँदैन, बरु उनीहरूले आफ्नो राष्ट्रको पहिचान, दिशा र अन्तर्राष्ट्रिय स्थानलाई नै परिवर्तन गरिदिन्छन् । यस्ता व्यक्तित्वहरूको योगदान समयको सीमाभन्दा माथि उठेर इतिहासमा अमर रहन्छ । त्यस्तै ऐतिहासिक व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो कतार राज्यका पूर्व अमिर तथा ‘फादर अमिर’ (अमिर अल-वालिद) महामहिम शेख हमद बिन खलिफा अल थानी । उहाँको १२ जुलाई २०२६ (२१ मुहर्रम १४४८ हिजरी) मा ७४ वर्षको उमेरमा कतारको राजधानी दोहामा निधन भयो । अमिरी दिवानले उहाँको निधनको आधिकारिक पुष्टि गर्दै राष्ट्र शोकमा डुबेको घोषणा गर्यो ।
महान् व्यक्तिहरू शारीरिकरूपमा हामीबाट टाढा भए पनि उनीहरूको विचार, योगदान र आदर्श कहिल्यै समाप्त हुँदैन । राष्ट्र निर्माण, मानव सेवा र समाज परिवर्तनमा दिएका योगदानहरू इतिहासका अमिट अध्याय बनेर सधैं जीवित रहन्छन् । शेख हमद बिन खलिफा अल थानी केवल कतारका पूर्व शासक मात्र हुनुहुन्नथ्यो, उहाँ आधुनिक कतारका प्रमुख शिल्पकार, दूरदर्शी राष्ट्रनेता र विश्व मञ्चमा कतारलाई विशिष्ट स्थान दिलाउने ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा मरुभूमिमा अवस्थित एउटा सानो खाडी राष्ट्र कतार आर्थिक, ऊर्जा, शिक्षा, विज्ञान, सञ्चार, कूटनीति र खेलकूदका क्षेत्रमा विश्वकै प्रभावशाली राष्ट्रहरूमध्ये एक बन्न सफल भयो ।
प्रारम्भिक जीवन र नेतृत्व यात्रा
शेख हमद बिन खलिफा अल थानीको जन्म १ जनवरी १९५२ मा कतारको राजधानी दोहामा अल थानी शाही परिवारमा भएको थियो । उहाँले प्रारम्भिक शिक्षा कतारमै प्राप्त गर्नुभयो । त्यसपछि बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टबाट सैन्य शिक्षा प्राप्त गर्नुभयो । स्वदेश फर्किएपछि उहाँ कतारी सशस्त्र सेनामा आबद्ध हुनुभयो र सेनाको आधुनिकीकरण तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले सेना प्रमुख, सशस्त्र सेनाका कमाण्डर इन चिफ तथा रक्षा मन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो । सन् १९७७ मा उहाँ युवराज नियुक्त हुनुभयो र करिब १८ वर्षसम्म राज्यका महत्वपूर्ण निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभयो ।
शासनभार ग्रहण र आधुनिक कतारको शुरुआत
२७ जुन १९९५ मा शेख हमद बिन खलिफा अल थानीले कतारको शासनभार सम्हाल्नुभयो । उहाँको नेतृत्वसँगै कतारमा आधुनिक विकासको नयाँ युग प्रारम्भ भयो । उहाँले प्राकृतिक स्रोतको उपयोगलाई दीर्घकालीन राष्ट्रिय योजनासँग जोड्दै आर्थिक विविधीकरण, मानव विकास, शिक्षा, अनुसन्धान, सुशासन, अन्तर्राष्ट्रिय सहकार्यलाई राष्ट्रिय विकासको केन्द्रमा राख्नुभयो ।
ऊर्जा क्रान्ति र आर्थिक रूपान्तरण
शेख हमदको शासनकालको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक नर्थ फिल्ड प्राकृतिक ग्याँस क्षेत्रको रणनीतिक विकास हो । उहाँको नेतृत्वमा तरलीकृत प्राकृतिक ग्यास क्षेत्रमा ठूलो लगानी गरियो । अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै कतार विश्वकै प्रमुख एनएलजी निर्यातकर्ता राष्ट्रमध्ये एक बन्न सफल भयो । ऊर्जा क्षेत्रबाट प्राप्त आम्दानीलाई केवल तत्कालीन खर्चमा नभई शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रविधि, अनुसन्धान, अन्तर्राष्ट्रिय लगानीमा प्रयोग गरियो । यस आर्थिक रूपान्तरणले कतारलाई विश्वकै उच्च प्रतिव्यक्ति आय भएका राष्ट्रहरूमध्ये एक बनायो ।
पूर्वाधार, सुशासन र संस्थागत विकास
शेख हमदको शासनकाल कतारको पूर्वाधार विकासको स्वर्णिम युगका रूपमा चिनिन्छ । उहाँको नेतृत्वमा आधुनिक राजमार्ग, बन्दरगाह, विमानस्थल, औद्योगिक क्षेत्र, अस्पताल, विद्यालय, विश्वविद्यालय, नयाँ शहरहरू निर्माण तथा विस्तार भए । आजको आधुनिक दोहा, लुसैल सिटी, हमद अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठूला परियोजनाहरू उहाँको दीर्घकालीन विकास दृष्टिकोणसँग जोडिएका छन् । प्रशासनिक सुधार, सरकारी सेवाको आधुनिकीकरण र संस्थागत क्षमता विकासमा पनि उहाँले विशेष जोड दिनुभयो ।
संविधान, शिक्षा र मानव विकास
शेख हमदको शासनकालमा कतारमा राजनीतिक तथा संवैधानिक सुधारहरू भए । सन् २००३ मा जनमतसंग्रहबाट संविधान अनुमोदन भयो र आधुनिक राज्य प्रणालीलाई थप संस्थागत आधार प्राप्त भयो । उहाँ र उहाँकी धर्मपत्नी शेखा मोजा बिन्त नासिर अल मिस्नद को पहलमा कतार फाउण्डेसन स्थापना भयो । यसअन्तर्गत स्थापित एजुकेशन सिटीले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूलाई कतारमा ल्यायो र कतारलाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउने आधार तयार गर्यो । स्वास्थ्य क्षेत्रमा पनि विशेषज्ञ अस्पताल, अनुसन्धान संस्था र आधुनिक स्वास्थ्य प्रणालीको विकास भयो ।
सञ्चार, कूटनीति र विश्व प्रभाव
सन् १९९६ मा स्थापना भएको अल जजिरा मिडिया नेटवर्क शेख हमदको दूरदर्शी सोचको महत्वपूर्ण उपलब्धि थियो । यसले कतारलाई विश्व सञ्चार क्षेत्रमा प्रभावशाली पहिचान दिलायो । कूटनीतिक क्षेत्रमा उहाँले कतारलाई संवाद र मध्यस्थताको केन्द्रका रूपमा स्थापित गर्नुभयो । कतारले लेबनान राजनीतिक संकटमा दोहा सम्झौता, सुडानको दारफुर शान्ति प्रक्रिया, क्षेत्रीय द्वन्द्व समाधानका प्रयासमार्फत् अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण भूमिका खेल्यो ।
कतारको विश्वव्यापी लगानी र आर्थिक प्रभाव
शेख हमदको नेतृत्वमा ऊर्जा आम्दानीलाई विश्वव्यापी रणनीतिक लगानीमा रूपान्तरण गर्ने नीति अघि बढाइयो । यस उद्देश्यका लागि सन् २००५ मा कतार इन्भेस्टमेन्ट अथोरिटी स्थापना गरियो । सोमार्फत कतारले विश्वका विभिन्न देशहरूमा बैंकिङ, वित्त, ऊर्जा, होटल, विमान सेवा, पूर्वाधार, रियल इस्टेट, प्रविधि जस्ता क्षेत्रमा दीर्घकालीन लगानी विस्तार गर्यो । यस नीतिले कतारलाई विश्व अर्थतन्त्रमा प्रभावशाली लगानीकर्ता राष्ट्रका रूपमा स्थापित गर्यो ।
खेलकुद र विश्व पहिचान
शेख हमदको नेतृत्वमा कतारले खेलकुद क्षेत्रमा पनि ठूलो सफलता हासिल गर्यो । सन् २००६ मा एसियाली खेलकुद आयोजना र सन् २०१० मा फिफा विश्वकप २०२२ आयोजना गर्ने अधिकार प्राप्त गर्नु कतारको विश्व पहिचान निर्माणका ऐतिहासिक घटना हुन् ।
ऐतिहासिक सत्ता हस्तान्तरण र ‘फादर अमिर’ को सम्मान
२५ जुन २०१३ मा शेख हमद बिन खलिफा अल थानीले स्वेच्छाले आफ्ना पुत्र तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभयो । यो खाडी क्षेत्रको राजनीतिक इतिहासमा शान्तिपूर्ण र दुर्लभ सत्ता हस्तान्तरणको उदाहरण मानिन्छ । त्यसपछि उहाँलाई सम्मानपूर्वक “फादर अमिर”को उपाधि प्रदान गरियो । यो कुनै संवैधानिक पद नभई आधुनिक कतार निर्माणमा उहाँको ऐतिहासिक योगदानप्रतिको सम्मानसूचक उपाधि हो ।
शेख हमद बिन खलिफा अल थानी र नेपालको आत्मीय सम्बन्ध
फादर अमिर शेख हमद बिन खलिफा अल थानीको शासनकाल ९१९९५-२०१३० कतारको मात्र नभई नेपाल र नेपाली समुदायका लागि पनि महत्वपूर्ण समय रह्यो । कतारको तीव्र आर्थिक विकासका क्रममा नेपालसहित विभिन्न देशका लाखौं श्रमिकहरूले रोजगारीको अवसर पाए । नेपाली श्रमिकहरूले आफ्नो मेहनत, सीप र इमानदार सेवाबाट कतारको विकास यात्रामा योगदान पुर्याए । त्यसैगरी कतारबाट प्राप्त रोजगारी र विप्रेषणले नेपालको अर्थतन्त्र, लाखौं परिवारको शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ । आज कतारमा रहेका नेपालीहरू कतारको विकास यात्राका साझेदार बनेका छन् ।
नेपाल-कतार उच्चस्तरीय सम्बन्ध र भेटवार्ता
नेपाल र कतारबीचको सम्बन्ध विस्तारमा दुवै देशका उच्च नेतृत्वबीच भएका भेटवार्ताहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालका तत्कालीन राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाह देव र कतारका तत्कालीन अमिर शेख हमद बिन खलिफा अल थानीबीच भएको भेटवार्ताले दुई देशबीचको परम्परागत मित्रता, आपसी सम्मान र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने आधार तयार गरेको थियो । यी उच्चस्तरीय सम्पर्कहरूले नेपाल र कतारबीच राजनीतिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध विस्तारका लागि सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुर्याए । त्यसैगरी, नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कतारका तत्कालीन अमिर शेख हमद बिन खलिफा अल थानीबीच भएका भेटवार्ताहरूले दुई देशबीचको श्रम सम्बन्ध, आर्थिक सहकार्य र आपसी हितका विषयलाई थप मजबुत बनाउने भूमिका खेले ।
नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको कतार भ्रमणका क्रममा उहाँले महामहिम शेख हमद बिन खलिफा अल थानीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र पारस्परिक सम्मानलाई निरन्तरता दिएको थियो । गणतन्त्र स्थापना भएपछि नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव र फादर अमिर शेख हमद बिन खलिफा अल थानीबीच भएको भेटवार्ताले नयाँ राजनीतिक परिवेशमा पनि नेपाल-कतार सम्बन्धको निरन्तरता र मित्रतालाई पुष्टि गर्यो । यसरी विभिन्न कालखण्डमा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख र कतारको नेतृत्वबीच भएका उच्चस्तरीय भेटवार्ताहरूले नेपाल-कतार सम्बन्धलाई विश्वास, सहकार्य र मित्रताको बलियो आधार प्रदान गरेका छन् ।
नेपालप्रति कतारको सहयोग र सद्भाव
कतारले विभिन्न कठिन परिस्थितिमा नेपालप्रति सहयोग र सद्भाव देखाउँदै आएको छ । विशेषगरी
सन् २०१५ को विनाशकारी भूकम्पपछि मानवीय सहयोग, नेपाली श्रमिकहरूको रोजगारी, श्रमिक कल्याण र संरक्षण, आर्थिक तथा कूटनीतिक सहकार्य नेपाल-कतार सम्बन्धका महत्वपूर्ण आधार हुन् ।
निष्कर्ष : एक महान् विरासतको स्मरण
फादर अमिर शेख हमद बिन खलिफा अल थानीको निधनसँगै कतारले आफ्नो आधुनिक इतिहासका एक महान् राष्ट्रनिर्माता गुमाएको छ । उहाँको विरासत केवल आर्थिक समृद्धि र कूटनीतिक सफलतामा सीमित छैन। उहाँले कतारलाई आत्मविश्वास, दूरदृष्टि र विश्वव्यापी पहिचान प्रदान गर्नुभयो । नेपाली समुदायको दृष्टिकोणबाट उहाँको युग रोजगारी, अवसर, नेपाल-कतार मित्रता र जनस्तरीय सम्बन्ध विस्तार भएको ऐतिहासिक कालखण्डका रूपमा स्मरण गरिने छ । आधुनिक कतारका शिल्पकार तथा नेपाल-कतार मैत्री सम्बन्धका एक महत्वपूर्ण पात्रका रूपमा फादर अमिर शेख हमद बिन खलिफा अल थानीलाई नेपाली समुदायले सम्मान, कृतज्ञता र आत्मीयताका साथ सधैं सम्झिरहनेछ । आधुनिक कतारका निर्माता फादर अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति हार्दिक श्रद्धाञ्जलि ।
(मियाँ राष्ट्रिय मानवअधिकार आयोग, कतारमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित समय १६:११ बजे



















