नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ४० भन्दा बढी नयाँ लञ्च हुने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आउँदो २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्स्पोका रूपमा आयोजना हुने सो प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्राण्ड र ४० भन्दा बढी नयाँ लञ्च रहनेछन् । एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन् ।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट शुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिनुभयो । उहाँका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो ।
अध्यक्ष वैद्यले नाइमाको दृष्टि ‘इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी’ र मिसन ‘मोबिलिटी फर अल’ एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताउनुभयो । उहाँले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गर्नुभयो ।
उहाँले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्सपो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको जानकारी दिनुभयो। साथै, नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
अध्यक्ष वैद्यले नाइमाले नाइमा मोबिलिटी एक्स्पो, नाइमा मन्थली मोबिलटी सम्वादजस्ता प्रमुख कार्यक्रमहरू संस्थागत गरिसकेको तथा ‘नाइमा मोबिलिटी जर्नल’ र ‘नाइमा क्यापासिटी बिल्डिङ टे«निङ सेसन्स’ सुरु गरिसकेको जानकारी दिनुभयो। त्यस्तै एक्सपोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र सो फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिने पनि उहाँले बताउनुभयो । साथै, नाइमाले आगामी दिनमा नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने र विशेषगरी शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गर्दै मोबिलिटी क्षेत्रमा सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रमहरू व्यवस्थित गर्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्सपो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको जानकारी दिइयो । स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालाहरूलाई स्टल उपलब्ध गराउन नसकिएकोमा अध्यक्ष वैद्यले दुःख व्यक्त गर्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले पनि आफ्नो धारणा राख्दै निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीहरूले व्यवसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।
त्यस्तै एक्सपोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताउनुभयो । उहाँले यस वर्षको एक्सपोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समिति संयोजक शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्सपोमा विशेष व्यवस्था गरिएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिनुभयो । आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेद्ध । पठाओले राइड पार्टनरका रूपमा एक्सपो अवधिभर भृकुटीमण्डप आउने-जाने यात्राका लागि छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ भने युनियन पेले क्यूआर पार्टनरका रूपमा युनियन पे क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याकसुविधा उपलब्ध गराउनेछ ।
यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडिटोरियम हलमा लर्निङ सेसनहरु आयोजना हुनेछन् । यी सेसनहरुमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन । यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन् ।
एक्सपोका ‘को-स्पोन्सर ग्लोबल आइएमई बैंकका तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नाइमासँग नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोमा सहकार्य गर्न पाउँदा बैंक खुसी लागेको बताउनुभयो । उहाँले मोबिलिटी, आर्थिक गतिविधि, उद्यमशीलता, रोजगारी र वित्तीय पहुँचबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नाइमासँग दीर्घकालीन सहकार्यको बलियो सम्भावना रहेको उल्लेख गर्नुभयो । साथै, एक्सपोमा आगन्तुकहरूका लागि विशेष बैंकिङ तथा वाहन वित्तीय सुविधाहरू उपलब्ध गराइने पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित समय ०८:१८ बजे





















