1100×100 Nabil Advert

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति   

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ ।

 

आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

 

आठ किलोमिटर दूरीको साँगा-धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते म्याद सकिएको थियो । सो कामका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सडक आयोजनाले जनाएको छ । कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार समग्रमा ६५ प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ ।

 

दोस्रो खण्डअन्तर्गत सूर्यविनायक-साँगामा भने ५५ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको यस सडकखण्डको पलुबजार क्षेत्रमा गत मङ्सिर तेस्रोसाता स्तरोन्नति सुरु गरिएको थियो । आयोजनाकाअनुसार सूर्यविनायक-साँगा खण्डमा केही स्थानमा सडक तथा अन्य संरचना भत्काउने काम भइरहेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी-बुडोल, साँगा-भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ ।

 

सूर्यविनायक-साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण भइरहेको छभने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती तथा भिर भएकाले काम गर्न केही अफ्ठ्यारो भएको छ ।

 

यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अन्जु परियारले बताउनुभयो । उहाँका अनुसार अन्य दुई पुलमा डिजाइनको प्रारम्भिक चरणमा स्थानीय तथा जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेकाले डिजाइन ढिला भएको हो । हाल ती समस्या समाधान भइसकेकोले डिजाइन भइसकेको छ । अब चाँडै पुल निर्माणको तयारी भइरहेको उहाँको भनाइ छ ।

 

चीनसँगको छोटोदूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा सवारी चाप बढेको हो । यही राजमार्गमा हाल कोटेश्वरबाट लामा-छोटा दुरीका सवारी मात्रै दैनिक दुई हजार पाँच सयभन्दा बढी छुट्ने गरेका छन् ।

प्रकाशित समय ०८:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु