1100×100 Nabil Advert

ट्रयाक खुलेको अढाई दशकपछि सडक कालोपत्र

बागलुङ । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी-तितौरे, ओडारचौर-ढोडेनी र गणेशघुम्ती-निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ ।

 

सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी-तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर-ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती-निरयघाटअन्तर्गत १.५ किमी गरी १२.२ किमी सडक कालोपत्र गरिएको छ । विश्व बैंकको रु ४८ करोड अनुदानमा सडक निर्माण गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडकले ग्रामीण जनतालाई यात्रा गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न सहज भएको उहाँको भनाइ छ । बागलुङ नगरपालिकाका तीनवटा वडामा पर्ने उक्त सडकले नागरिकको जीवनस्तर परिवर्तन ल्याउनने प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

 

उहाँले भन्नुभयो, ‘ट्रयाक खुलेको धेरै समय भएको थियो, तर अहिलेसम्म कालोपत्र नहुँदा गाउँमा धुलोले स्थानीय आजित थिए, यात्रा र सामान ढुवानीमा पनि उस्तै समस्या थियो, अब कालोपत्र सडकले उनीहरूको यात्रामात्र होइन दैनिकी नै सहज बनाउने अपेक्षा लिएका छौँ ।’ तीन सडकले बागलुङ नगरपालिका-१, ४ र ७ वडा जोडेको छ । सडक कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्त भएको स्थानीय तुलसी सापकोटाले बताउनुभयो । केही महिना अगाडिसम्म घर अगाडि गाडी गुड्दा धुलो र हिलो भान्छा कोठामै पुग्ने गरेको भन्दै अहिले कालोपत्र गरेको चिटिक्क बनेको उहाँको भनाइ छ । अर्का स्थानीय प्रेम विकले अब बागलुङ बजार आवातजावात गर्न निकै सहज हुने बताउनुभयो । पहिले अप्ठ्यारो र साँघुरो हुँदा साढे एक घण्टा लाग्ने गरेको भन्दै अब २५-३० मिनेटमै बजार झर्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित समय ०८:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु