1100×100 Nabil Advert

छेडगाड नगरपालिकाले गर्‍यो कर्मचारी सञ्चय कोषको अन्तरक्रिया कार्यक्रम

जाजरकोट छेडगाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडगाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । छेडगाडस्थित नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।

 

कोषको शाखा कार्यालय सुर्खेतका कार्यालय प्रमुख मुकुन्द अर्यालले अध्यक्षता गरेको कार्यक्रम उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कोषका वरिष्ठ प्रबन्धक राम प्रसाद लामिछानेले कोष सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । यस्तै कोषको सेवा सुविधाहरुका बारेमा सहायक प्रबन्धक दुर्गा प्रसाद नेपाल र केवाइसी तथा वेब इन्ट्रि प्रकृयाका सम्बन्धमा सहायक प्रबन्धक पवन दाहालले प्रस्तुति दिनुभएको थियो ।

 

कार्यक्रममा वडा नं १२ का अध्यक्ष प्रेम बहादुर खत्रीले सञ्चय कोषले जाजरकोट कै दुर्गम मध्येको छेडगाड नगरपालिकामा यस्तो वृहत कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिनुभएको थियो । यस्तै शिक्षा समन्वय प्रमुख पदम बहादुर बिकले नेपाल सरकारले डिजिटल एवं पेपरलेस गभर्नेन्सको अवधारणा अघि सारेको र कोषले यस अवधारणा अनुसार आफुलाई अव्वल सावित गर्दै गइरहेको सन्दर्भमा समस्त शिक्षक तथा कर्मचारीहरुले समेत सो प्रकृयामा सहयोग गर्नुपर्ने बताउनु भयो । उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चयकर्ता सुविधाको लागि कोष कटिबद्ध रहेको र कोषको डिजिटाइजेसनको प्रकृयामा समस्त शिक्षकवर्ग तथा विद्यालयहरुको सदैव सहयोगको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा छेडगाड नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानध्यापक सहित शिक्षक तथा अन्य कर्मचारीहरु गरी १३८ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित समय १३:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु