1100×100 Nabil Advert

श्रमिकको हितका लागि सिएनआई र सामाजिक सुरक्षा कोषबीच समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र सामाजिक सुरक्षा कोष (एसएसएफ) ले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउन र श्रमिकलाई योजनामा आवद्ध गराउन प्रोत्साहन गर्न समझदारी गरेको हो । सोमबार परिसंघ सचिवालयमा परिसंघ र सामाजिक सुरक्षा कोषले संयुक्तरूपमा आयोजना गरेको सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

 

यस सहकार्यअन्तर्गत नेपाल उद्योग परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्न, देशभर सचेतना कार्यक्रम सञ्चालनमा गर्न, आवश्यक जानकारी उपलब्ध गराउन तथा श्रमिकका दीर्घकालीन हित सुनिश्चित गर्ने उद्देश्य रहेको छ । समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा.घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभयो ।

 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो । उहाँले उद्योगीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई अझ व्यवहारिक र पहुँचयोग्य बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न र दर्ता प्रणालीमा समाहित हुन सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

 

उक्त कार्यक्रममा परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोष कल्याण कार्यक्रममात्र नभएर मानव पूँजी विकासको मुख्य आधार रहेको बताउनुभयो । उहाँले परिसंघले यस्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम प्रदेश स्तरमा पनि बृहतरुपमा सञ्चालन गर्ने बताउनु भयो । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकरीले सामाजिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजान र श्रमिकका सुविधाहरूलाई विस्तार गर्दै लैजान यो सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो ।

 

कार्यक्रममा सामाजिक सुरक्षा कोषका पूर्वसञ्चालक समिति सदस्य तथा परिसंघको रोजगारदाता परिषद्का सभापति ध्रुव रिजाल, सामाजिक सुरक्षा कोषका सञ्चालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगतबहादुर सिँखडालगायत अन्य आवद्ध महासंघका पदाधिकारीहरु, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरु, रोजगारदाता परिषदका सदस्यहरु, उद्योगी व्यवसायी प्रतिनिधिहरु लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित समय २०:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु